काठमाडौँ, फागुन २५ : दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ?उनी प्रायः हाँसेर टारिदिन्छिन् । तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ, जसलाई उनले ‘धोका’ दिएकी थिइन् । त्यो पनि विवाहकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं. २०४८ तिर । त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् । विराटनगरस्थित उनको घरअगाडि कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो । पढाइमा नामी । आनीबानी पनि सरल । टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनीसँग पढ्न जान थालिन् । अरू साथीहरू पनि हुन्थे तर उनको ध्यान दीपातिर ज्यादा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा नपाएझैं गरिन् ।
शंका लागेर हो वा कुन्नि, एक दिन आमाले किताब खानतलासी गरिछिन् । त्यहाँ त त्यही केटाले लेखेको प्रेमपत्र । दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो । आमा र फुपूको पिटाइ खाइयो ।’ उनी केटाले एकोहोरो मन पराएको विश्वास दिलाउन खोज्थिन् तर आमा मरिगए नपत्याउने । आमालाई डर रहेछ, छोरीले इसारा नदिई केटाले चिठी लेखेन । त्यसैले दिनरात गाली गरिरहिन् । कहिले रुँदै घुर्काउँथिन पनि ।आमा आत्तिनुको मुख्य कारण थियो– केटो कथित ‘तल्लो जात’ को हुनु ।
आजभन्दा २८ वर्षअघिको समाज, अन्तरजातीय प्रेमलाई परिवारले स्विकार्ने कुरै भएन । तर केटा–केटीबीच केही नभई छिमेकमा गाईगुई सुरु भइसकेको थियो । टिनएजमा हिँड्दै गरेकी दीपालाई आमासँगै ‘इगो’ पैदा भएछ । किन ? उनी सम्झिन्छिन्, ‘केही हुँदै नभई गाली र पिटाइ खानुपर्यो । त्यसैले जसरी भए पनि त्यो केटासँग लभ गरेरै देखाउँछु भन्ने प्रण गरेँ ।’
अब भनेचाहिँ उनले केटालाई इसारा दिन थालिन् । पढाइ नहुँदा पनि लुकीलुकी भेट्न थाले । भेटले सम्बन्धलाई अझ समीपमा ल्यायो । छठमा साइकलको घन्टी बजाउँदै घुमेको सम्झँदा दीपा अझ पनि रोमाञ्चित हुन्छिन् । गाउँमा हल्ला र घरमा गाली जारी थियो तर उनले मतलबै गरिनन् । परीक्षा आउन केही दिन मात्र बाँकी थियो– दीपामाथि घनघोर बज्रपात आइलाग्यो । आमाको देहान्त भयो ।
आमा गुमाउँदाको अथाहा पीडा त छँदै थियो, पारिवारिक जिम्मेवारीले पनि थिच्यो । आमा हुँदा फुक्काफाल थिइन्, चरीजस्तै । अब खाना पकाउने, भाइबहिनीलाई स्कुल लैजाने, बुबाको ख्याल गर्ने सबैसबै दायित्व उनको काँधमा । पढाइको चटारो त छँदै छ । उनले भावुक हुँदै सुनाइन्, ‘घरको काममा म यति व्यस्त हुन थालें कि ब्याइफ्रेन्डसँग भेट्ने/घुम्ने समय नै भएन । त्यसमाथि आमाको वियोगले मानसिक रूपमा विक्षिप्त भएकी थिएँ ।’दीपा बाध्यताले टाढिएकी थिइन् । तर, प्रेमीलाई लागेछ, जानी–जानी बेवास्ता गरिरहेकी छन् । एक दिन दीपाकी साथीले खबर सुनाइन्, ‘तेरो ब्याइफ्रेन्डले विष खाएछ । अस्पतालमा भर्ना गरेको छ ।’दीपाको हातगोडा लल्याकलुलुक भए, ओठतालु सुक्यो । तर, गर्न सक्ने केही थिएन । अस्पताल जाँदा अनेक शंका हुने । त्यसैले साथीलाई खबर पठाइन्, ‘सन्चो भएर घर फर्कनू, दीपाले माया गर्छे ।’
धन्न ! समयमै अस्पताल पुर्याएकाले केही नराम्रो भएन । केही दिनपछि भेटघाट भयो, दीपाले माया र बाध्यताका व्यथाहरू सुनाइन् । आफ्ना लागि ज्यानै त्याग्न तयार भएपछि माया गर्दो रहेछ भनेर मनमनै दंग नपरेकी होइनन् तर उही, दिल खोलेर बह पोख्ने माहोल थिएन ।
समय बित्दै गयो । स्कुल पढ्दै डान्समा विराटनगरभर चर्चित थिइन्, दीपा । पहिलो पटक ‘अग्निपथ’ टेलिसिरियलमा अभिनय गरिन् । यसबाटै ‘बेस्ट न्यु कमर’ को अवार्ड पाइन् । अवार्ड लिन काठमाडौं आउँदा आयोजकबाट जुन मानमनितो पाइन्, उनलाई लाग्यो, ‘मेरो भविष्य यतै छ, विराटनगर बसेर हुन्न ।’ त्यसैले काठमाडौंमै बसेर कलाकारिता गर्ने निर्णय गरिन् । प्रेमीलाई मन परेको थिएन तर उनले विश्वास दिलाइन् ।
यताको बसाइँ बडो कष्टकर थियो । खानबस्नै धौधौ । मदनदास श्रेष्ठ र वासुदेव मुनालले रेडियो नाटकमा अभिनय गर्ने मौका दिए, महिनामा ५ सय आउँथ्यो । त्यसबाटै चल्नुपर्ने । दीपा ती दिनहरू यसरी सम्झिन्छिन्, ‘पाइला–पाइलामा हन्डर खानुपर्थ्यो । तैपनि एक दिन ठूलो कलाकार बनेर नाम कमाउँछु भन्ने सपनाले सबै पीडा भुलाइदिन्थ्यो ।’ कलाकारितामा संघर्षरत त्यो समयमा विराटनगरमा रहेका प्रेमीसँग बेलाबखत सम्पर्क हुन्थ्यो, हल्लाफुल्का मायापिरतीका कुरा हुन्थे । एक दिन उनले खबर सुनाए, ‘आमा बिरामी हुनुभयो । केही समय काठमाडौंमै राख्नुपर्ने भयो ।’
दुवै खुसी थिए किनभने थोरै समय सही, नजिक हुन पाउँदै थिए । आमाको उपचार सुरु भयो तर अहँ, निको हुने छाँटकाँटै थिएन । घर फर्किए पनि आमाले काम गर्न सम्भव थिएन । त्यसैले परिवारबाट दीपाका प्रेमीलाई बिहेका लागि दबाब आउन थालेछ । दीपाभन्दा आठ वर्ष जेठो भएकाले उमेर पनि पुगेको । दीपालाई मनाउन उनले आफ्नो सबै व्यथा सुनाए । बिहे गरेपछि विराटनगर फर्कनुपर्थ्यो, घरव्यवहार सम्हाल्नुपर्थ्यो । अर्थात् दीपाको अभिनय यात्रा त्यही टुंगिन्थ्यो । उनलाई यस्तो स्वीकार्य छँदै थिएन ।
दीपाले दुई/तीन वर्ष पर्खन आग्रह गर्थिन् । केटालाई भने जतिसक्दो छिटो बिहे गर्नु थियो । उनी हत्ते गर्न थाले । दीपाको केही जोर चलेन । विवाहका लागि राजी भइन् । मिति तोकियो । मन्दिरमा सामान्य ढंगले गर्ने योजना बन्यो । केटा दंग, दीपा द्विविधामा ।
भोलिपल्ट विवाह थियो । अघिल्लो रातभर दीपा निदाउन सकिनन् । भविष्य पूरै अन्धकार देखिन् । कलाकार बन्ने सपना तुहिँदै थियो । बिहेको दिन बिहानै, केटासँग भेटिन् र भनिन्, ‘म बिहे गर्न नसक्ने भएँ । मलाई माफ गर ।’
यी शब्द दीपाको मुखबाट खस्न नपाउँदै प्रेमीले भित्तामा टाउको ठोगेको अझ याद छ उनलाई । तर, प्रेमका लागि आफ्नो सपनालाई तिलाञ्जली दिन पनि सकिनन् । प्रेमीले अनेक यत्न गरेर फकाउन खोजे तर दीपा आफ्नो निर्णयबाट पछि हटिनन् । बिहे टर्यो । प्रेमको त्यहीं अन्त्य भयो । केटाको केही समयपछि अर्कैसँग बिहे भयो, उनको आफ्नै बाध्यता थियो ।
दीपाको हकमा भने त्यसपछि कहिल्यै बिहे जुरेन । उनी हाँस्दै भन्छिन्, ‘कहिलेकाहीँ त उसैको पापले पनि हो कि जस्तो लाग्छ । तर मेरो नियत धोका दिने थिएन भनेर चित्त बुझाउँछु ।’ पूर्वप्रेमीसँग उनको कहिलेकाहीं कुराकानी हुने गर्छ । दीपाको प्रगतिबाट प्रफुल्लित छन् । ‘समयले पतिपत्नी नबनाए पनि हामी एकअर्कालाई अझ सम्मान गर्छौं,’ उनले भनिन् ।
व्यक्तिगत नाता टुटेको त्यही समयमा यता दीपकराज गिरीसँग व्यावसायिक नाता गाँसियो । दीपक–दीपाले रेडियो कार्यक्रम रामविलास–धनियाँबाट खुब ख्याति कमाए । त्यसपछि हास्य सिरियल ‘तीतो–सत्य’ ले उनीहरूको लोकप्रियताको दायरा फराकिलो बनाइदियो । फिल्ममा पनि उनीहरूको सह–यात्रा जमिरहेको छ । ब्लकबस्टर सिरिज ‘छक्का पन्जा’ की निर्देशक हुन्, दीपा । आजकलको उनको ध्यान अभिनयभन्दा निर्देशनमा ज्यादा छ । नाम र धन जति कमाएकी छन्, सन्तुष्ट छिन् ।
अनि, बिहे नि ? फेरि उही प्रश्न । संयोग कस्तो भने गत शुक्रबार आफ्नो अपुरो बिहेको कथा सुनाइरहँदा दीपालाई अभिनेत्री प्रियंका कार्कीको बिहेमा जान हतार भइरहेको थियो ।
उनका अनुसार, ‘छक्का पन्जा’ निर्देशन गर्नुअगाडि बिहे नगरेकोमा खुब पछुतो हुन्थ्यो । व्यावसायिक रूपमा हिट भए पनि एक्लो महसुस गर्थिन् । आफ्नो मान्छे कोही हुनुपर्छ जस्तो लाग्थ्यो । तर, ‘छक्का पन्जा’ पछि भने यो सोच पूरापूर हराएको छ । उनकै शब्दमा– अब बिहे नगरेको कुनै पश्चाताप छैन । दीपाले मनको कुरा पोखिन्, ‘लेखेको रहेछ भने भइहाल्छ, नत्र कसैकी दुलही बन्ने चाहना छैन । आमा बन्नचाहिँ मन छ । नेपालमा सरोगेसीले वैधानिकता पायो भने सन्तान पाउँछु ।’ यसो भनिरहँदा उनका आँखा भिजेका थिए । कान्तिपुर दैनिकबाट साभार