एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्यांकन पठाउन विद्यालयलाई निर्देशन

  जेठ ३१, २०७८

भक्तपुर, जेठ ३१ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ ।

कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।

विद्यालयको समयसीमा असार २०
बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।

मूल्याङ्कन समितिमा पाँच जना
बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ । समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ ।

गत वर्ष पनि विद्यार्थीको मूल्याङ्कनका लागि समिति बनाउने प्रावधान भए पनि सबै काम प्रधानाध्यापक एक्लैले गरेको गुनासो आएपछि यस पटक पाँच जनाको अनिवार्य हस्ताक्षरमा मात्र नतिजाको अन्तिम मूल्याङ्कन हुने कार्यविधि बोर्डले बनाएको छ । बोर्डका अध्यक्ष पौडेलले पाँच जनाको हस्ताक्षरमा विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन नआए त्यसले मान्यता नपाउने र त्यो विद्यालयमै फिर्ता पठाइने जानकारी दिनुभयो । गत वर्षको आन्तरिक मूल्याङ्कनमा देखिएको त्रुटि कम गर्न यस पटक आन्तरिक सन्तुलनसहितको मोडालिटी बनाइएको छ । यसबाट विद्यालयमा प्रधानाध्यापकले आफूखुसी अङ्क दिने परिपाटीमा सुधार आउने र वास्तविक मूल्याङ्कनमा सहयोग पुग्ने जनाइएको छ ।

अधिक मूल्याङ्कन गरिए फिर्ता
बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

विद्यालय तथा जिल्ला समन्वय एकाइले निर्धारित समयमा काम पूरा गर्ने विश्वास व्यक्त गर्दै बोर्डका अध्यक्ष पौडेलले विद्यार्थीको समय खेर जान दिन नहुने बताउनुभयो । विगतमा पनि साउन मध्यबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरिएकोमा यस पटक दुई साताको हाराहारीमा मात्र विलम्ब हुने अवस्था देखिएको उहाँको भनाइ छ । सरकारले असार १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको र शिक्षकहरू विद्यालयकै सम्पर्कमा हुने भएका कारण एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कनलगायतका सबै काम निर्धारित समयमै हुने बोर्डको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया