मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ । त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ । विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्पे्रषण गर्ने गरेको छ ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ ।

तपाईको प्रतिक्रिया