काठमाडौं, जेठ २० : डेनमार्कले जर्मनीलाई बराबरीमा रोकेको छ । यूरो कप २०२० को अभ्यासको क्रममा डेनमार्क र जर्मनीबीचको खेल १–१ को बराबरीमा रोकिएको हो ।
सन् २०१८ पछि थोमस म्युलर र म्याट्स ह्युमल्स पहिलो पटक जर्मनीको टोलिका लागि खेल्नुभयो । म्युलर र ह्युमल्ससँगै जिरोम बोटेङ्गलाई प्रशिक्षक जोचिम लले युवा खेलाडीलाई अवसर दिने भन्दै टोलीबाट बाहिर राख्दै आउनुभएको थियो । तर यूरो कप २०२० का लागि दुबैजनाले टोलीमा पुनरागमन गरेका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमै जर्मनीका फ्लोरियन नेउहसले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा १–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफको उत्तरार्धतिर अग्रतालाई कायम राख्न सकेन ।
गोल गर्ने कुनै अवसर पाउन नसकेर विक्षिप्त बनेको डेनिस टोलीका लागि ७१ औं मिनेटमा युसस्फ पौलसेनले क्रिश्चियन एरिकसनको पासलाई गोलमा परिणत गरेर बराबरी गोल फर्काउनुभयो ।