कोरोना संक्रमितसँगै बसिरहेका एकाघरका मानिसहरू कसरी जोगिने

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : अहिले नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

काठमाण्डू उपत्यकासहित घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्छ ।

यस्तो अवस्थामा सङ्क्रमितहरू भएको घर तथा डेरामा बस्ने सङ्क्रमण नभएका व्यक्तिहरूले कोरोनाभाइरसबाट जोगिने उपायहरू अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

सङ्क्रमण नभएका परिवारका सदस्यसँग साँघुरो स्थान र एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमितलाई पनि असहज अनुभव हुने पहिला सङ्क्रमण भएका मानिसहरू बताउँछन् ।

चिकित्सकहरू सङ्क्रमितसँग घरमै बस्दा कस्ता सतर्कता तथा सुरक्षात्मक उपायहरू अपनाउन सल्लाह दिन्छन् त ?

सङ्क्रमित हुँदाको अनुभव
सङ्क्रमितका अनुभवमा एकाघरमा बस्दाको अवस्था सहज हुँदैन । तर सुरक्षात्मक उपाय अपनाएर तथा परिवारका सदस्यभन्दा छुट्टै बसेर सङ्क्रमणबाट अन्यलाई बचाउन सकिने अनुभव केही सङ्क्रमितको छ ।

सङ्क्रमणमुक्त भइसकेका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका सागरकुमार भट्टराईले घरमा छुट्टै शौचालयको व्यवस्थापन गर्न सकेकाले सहज भएको बताए ।

“हाम्रो घरमा अन्य परिवारका सदस्यलाई प्रयोग गर्न र मलाई फरक-फरक शौचालय भएकाले सजिलो भयो,” साढे तीन वर्षको छोरासहित आठ जनाको परिवारमा बस्ने भट्टराईले भने ।

तर सङ्क्रमण भएपछि परिवारका अन्य सदस्यले कुरा बुझे पनि बालबालिकालाई कुरा बुझाउन नसकिने भएकाले निकै असहज भएको अनुभव उनको छ ।

“छोराले मलाई किन बाबाले माया गर्नु नभएको ? किन बोक्नु नभएको ? किन मेरो छेउमा आउनु नभएको? भन्ने प्रश्न गर्दा मनमा चिसो पस्थ्यो,” उनले भने । छोरालाई सङ्क्रमणबाट जोगाउनका लागि उसलाई मामाघर पठाएर आठ-दश दिन राखेको भट्टराईले बताए ।

मानसिक तनाव
सङ्क्रमित भएपछि सुरुमा निकै चिन्ता लागेको बताउने भट्टराईले ‘केही दिनसम्म लगातार ज्वरो आएपछि मरिन्छ कि’ जस्तो लागेको सुनाए ।

त्यसपछि घर परिवारका अन्य सदस्यलाई सरेर गाह्रो बनाउला भन्ने पिर परेको भट्टराई बताउँछन् । तर आफ्नै कोठामा खाना खाएको र शौचालय छुट्टै प्रयोग गर्नुका साथै सरसफाइमा पनि ध्यान दिएकाले त्यस्तो अवस्था नआएको अनुभव गरेका छन् ।

यद्यपि कोठामा बस्दा एक्लो महसुस गरेको र दिमागमा नकारात्मक कुरा मात्र आएको उनले अनुभव गरे । अन्य रोगमा जस्तो कसैले नजिकै आएर हेरचाह गर्न नमिल्ने भएकाले मानसिक रूपमा चाहिँ आफू निकै कमजोर भएको जस्तो लागेको उनी बताउँछन् ।

सुरक्षित कसरी हुने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार घरमै उपचाररत सङ्क्रमितहरूले सुरक्षित रूपमा अरू व्यक्तिभन्दा छुट्टै बस्नुपर्छ ।

पीसीआर पजिटिभ हुँदैमा आत्तिनु नहुने र जथाभाबी औषधि सेवन गर्नु नहुने उनको सुझाव छ । पाँच दिन पछिसम्म पनि ज्वरो आउने, खोकी आउने र अक्सिजन कम हुने समस्या देखिइरहेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनी बताउँछन् ।

उनका अनुसार घरका अन्य व्यक्तिहरूले सङ्क्रमितसँग शौचालय साझा गर्नुपर्दा सुरक्षात्मक उपाय अपनाएर सङ्क्रमणबाट बच्न सकिन्छ । “एउटै शौचालय प्रयोग गरे पनि त्यसलाई हरेक पटक सङ्क्रमित जाँदा सफा गर्ने र खुला राख्नुपर्छ । हावा वारपार हुने अवस्था बनाउनु पर्छ ।”

उनी अन्य स्थान पनि खुला राख्नुपर्ने, सङ्क्रमित जाने स्थान र सङ्क्रमितले प्रयोग गरेका चिजहरूलाई साबुन पानी वा भाइरस मार्ने खालका बजारमा पाइने किटहरू प्रयोग गरेर सफा गर्न सुझाव दिन्छन् ।

बीबीसी विश्व सेवाका अनुसार अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन सीडीसीले सङ्क्रमितसँगै बस्ने एकाघरका मानिसहरूमा सङ्क्रमण हुन नदिन अपनाउन सकिने केही उपायहरू यस्ता छन्:

१) सङ्क्रमितको कोठा
सङ्क्रमितलाई छुट्टै कोठामा राख्न सकिने अवस्थामा त्यसको ढोका बन्द गरेर झ्यालहरू खोल्नुपर्छ । कोठामा हावा वारपार हुने अवस्था बनाउनु पर्छ। त्यसका लागि पङ्खा खोल्न पनि सकिन्छ। सङ्क्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गर्नुपर्छ ।

सङ्क्रमितसँग एउटै कोठामा सुत्नुपर्ने अवस्था भएमा कम्तीमा दुई मिटरको दूरी बनाएर दुई वटा ओछ्यानको बीचमा पर्दा लगाएर भए पनि छेक्नुपर्छ । यदि एउटै ओछ्यानमा सुत्नुपर्ने अवस्थामा दुईतिर फर्केर सुत्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सङ्क्रमितको श्वासप्रश्वास अन्य माध्यमबाट सर्ने सम्भावना कम हुन्छ ।

२) दूरी
सकेसम्म सङ्क्रमितको कोठामा छिर्नु हुँदैन । छिर्नै परेमा पनि दूरी कायम गर्ने र दुवै जनाले मास्क लगाउने गर्नुपर्छ । सङ्क्रमितले छोएका वस्तु छुँदा हातमा एक पटक मात्र प्रयोग गरेर फाल्ने खालको पन्जा लगाएर मात्र छुनुपर्छ । खानेकुरा ढोकामा राखिदिनु र खाना राख्ने मान्छे गएपछि मात्र सङ्क्रमितले लिनु उपयुक्त हुन्छ ।

३) शौचालय
सकेसम्म सङ्क्रमितले छुट्टै शौचालय प्रयोग गर्दा उपयुक्त भए पनि त्यस्तो अवस्था नहुँदा अन्यले प्रयोग गरिसकेपछि मात्र सङ्क्रमितले प्रयोग गर्दा राम्रो हुन्छ ।

त्यसपछि पन्जा लगाएर शौचालयलाई राम्ररी भाइरस मार्ने खालका केमिकलहरू प्रयोग गरेर सफा गर्नुपर्छ । सङ्क्रमितले प्रयोग गरेर सफा गरेपछि शौचालय खुला राख्नुपर्छ र सकेसम्म हावा वारपार हुन दिनुपर्छ । सङ्क्रमितले प्रयोग गरेको सकेसम्म लामो समयपछि शौचालय प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ।

सङ्क्रमितको आफ्नै रुमाल हुनुपर्छ र सकेसम्म उसैले सफा गर्नुपर्छ । सङ्क्रमितले शौचालय गरेर सफा गर्न नसक्ने अवस्थामा अर्को व्यक्तिले मास्क र पन्जा प्रयोग गरेर सफा गर्नुपर्छ र लगत्तै साबुनपानीले हात धुनुपर्छ ।

४) सामानहरू
सङ्क्रमितले थाल, गिलास, कचौराजस्ता वस्तु छुट्टै प्रयोग गर्नुपर्छ । सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा माझ्ने डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानीले धुनुपर्छ ।

फोहोर भएका कपडाहरू पन्जा लगाएर निकाल्नुपर्छ र झड्कार्नु हुँदैन । ती कपडाहरूलाई तातो पानीमा अन्य कपडासँगै धुन सकिन्छ तर ती लुगालाई उच्च तापमा सुकाउनु राम्रो हुन्छ। लुगा धोइसकेपछि साबुनपानीले हात धुनुपर्छ ।

मानसिक स्वास्थ्यको ख्याल
एकाघरमा बस्ने सङ्क्रमित हुँदा सङ्क्रमित र अन्य सदस्यमा समेत मानसिक समस्याहरू देखिने गरेको मनोचिकित्साविद्हरू बताउँछन् । त्यस्तो अवस्थामा सङ्क्रमितले आफूलाई नकारात्मक सोच आउन नदिन विभिन्न क्रियाकलाप गर्नुपर्ने उनीहरूको भनाइ छ ।

मनोचिकित्साविद् डा. नर्मदा देवकोटा भन्छिन्, “सङ्क्रमितले आफूलाई एक्लो महसुस हुन नदिनका लागि प्रविधिको उपयोग गर्दै आफन्तसँग भिडिओ कुराकानी गर्ने, योग ध्यान गर्ने, पढ्ने, लेख्ने र मन परेको कुराहरू सुन्ने गर्न सकिन्छ।”

त्यस्तै परिवारका अन्य सदस्यहरूले पनि ‘घरमा एक व्यक्ति सङ्क्रमित भए अब हामी पनि हुन्छौँ’ भन्ने खालको सोच राखेर डराउनु नहुने उनको सुझाव छ । सङ्क्रमित हुन नदिनका लागि सुरक्षात्मक उपाय अपनाउने र डर आउन नदिनका लागि सङ्क्रमणलाई पनि सामान्य रूपमा लिनुपर्ने देवकोटाले बताइन् ।

त्यस्तै सङ्क्रमित र सङ्क्रमितको परिवारसँग कुराकानी गर्ने आफन्त र साथीभाइले पनि नकारात्मक खबरहरू सुनाउनु भन्दा ढाडस दिएमा मानसिक समस्याहरू कम हुने डा देवकोटालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया