काठमाडौं, जेठ १८ : बेलायत सरकारले भारतीय क्रिकेट टोलीका सदस्यसँगै परिवारका सदस्यलाई पनि इंग्ल्याण्ड आउन सक्ने अनुमति दिएको छ । विश्व टेष्ट च्याम्पियनशीपसँगै इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृखंला खेल्न प्रस्थान गर्न लागेको भारतीय टोलीले करिब चार महिना इंग्ल्याण्डमा बिताउनेछ । भारतीय क्रिकेट टोली बुधबार इंग्ल्याण्डका लागि प्रस्थान गर्दैछ ।
भारतको पुरुष र महिला दुबै क्रिकेट टोलीले इंग्ल्याण्ड भ्रमण गर्न लागेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार बेलायत सरकारले लामो समयसम्म भ्रमणमा रहने हुँदा खेलाडीको मानसिक एकाग्रतालाई ध्यानमा राखेर यस प्रकारको स्वीकृति दिइएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डको प्रस्तावमा बेलायतले खेलाडीले परिवारका एक सदस्यलाई लिएर आउन पाउने ब्यवस्था गरिएको छ । तर उक्त सदस्यले बेलायत सरकारको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।
बुधबार इंग्ल्याण्डका लागि प्रस्थान गर्ने चाटर्ड विमानमा खेलाडीसँगै परिवारका सदस्य पनि सहभागी हुने्छन् । लण्डन पुगेर क्रिकेट टोली साउथम्पटन प्रस्थान गर्नेछ । टोलीका सदस्यहरु साउथम्पटनमा क्वारेन्टिनमा बस्नुपर्नेछ । महिला टोली भने ब्रिस्टल प्रस्थान गर्नेछ । ब्रिस्टलमा भारतीय महिला टोलिले इंग्ल्याण्ड बिरुद्ध एक टेष्ट म्याच खेल्नेछ । इंग्ल्याण्ड प्रस्थान गर्ने क्रिकेट टोली हाल मुम्बईस्थित एक होटेलमा क्वारेन्टिनमा छ । लण्डन पुगे लगत्तै क्रिकेट टोलीका सदस्यहरुको पीसीआर परीक्षण रिपोर्ट खोजिनेछ । त्यस अतिरिक्त कम्तीमा १४ दिनसम्म क्वारेन्टिनमा बसेको प्रमाण पेश गर्नुपर्नेछ ।