काठमाडौँ, जेठ १३ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा सञ्चालित ‘मेरुदण्ड शल्यक्रिया तालिम’लाई मान्यता दिइएको छ । एशोसियशन अफ स्पाइन सर्जन्स अफ नेपालले तीन वर्षदेखि अस्पतालले प्रदान गर्दै आएको सो आज तालिमलाई मान्यता दिएको हो ।
ग्राण्डीमा वर्षको पाँच हजार भन्दा बढी मेरुदण्डका बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये २५० भन्दा बढी बिरामीको शल्यक्रिया गरेर उपचार हुने गरेको अस्पतालका स्पाइन विभागका प्रमुख डा विनोद विजुक्छेले जानकारी दिनुभयो ।
नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको उक्त कार्यक्रममा हालसम्म चार जनाले तालिम प्राप्त गरिसकेका छन् । “यस्ता तालिम सञ्चालन गर्दा जनशक्ति उत्पादन हुनेमात्र नभई विश्वस्तरिय तथ्यमा आधारित उपचार पाउने भएकाले विरामीले राम्रो उपचार पाउँछन्,”उहाँले भन्नुभयो ।
अन्य अस्पतालमा पनि यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ । अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर तह उर्तिण गरेका व्यक्तिले यस्तो तालिममा भाग लिन पाइने सो अस्पतालले जनाएको छ । निः शुल्क तालिम एक वर्षको हुनेछ ।
डा विजुच्छेका साथसाथै डा जावेद अहमद खान, डा व्यापक पौडेल र डा रामकृष्ण दाहालले तालिम प्रदान गर्नुहुनेछ । अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित हेल्थ इन्टरनेशनलसँग सहकार्य गरेको उक्त कार्यक्रमलाई उत्तर अमेरिका स्पाइन एशोसियशनले निःशुल्क सदस्यता प्रदान गरेको हो ।