कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपियाँ’ फलाउँदै

  जेठ १३, २०७८

बुटवल, जेठ १३ : कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

त्यस्तैमध्येका एक हुनुहुन्छ, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दीपक कोरोनाका कारण रोजगारी गुमेपछि गत वर्षको चैतमा बल्लतल्ल घर फर्किनुभयो । लामो समय बेरोजगारीका दिक्दारी दिन बिताएका दीपक अहिले भने आफ्नै खेतबारीमा रमाइरहनुभएको छ । पाँच कट्ठा खेतमा काँक्रा, करेला, बोडीलगायत तरकारी लटरम्म फलाउनुभएको छ । गोलभेँडा, खुर्सानी, बन्दालगायतका मौसमी तरकारी पनि उस्तै छन् । पशुपालनबाट मलको व्यवस्था गर्नुहुन्छ र थोपा प्रणालीबाट सिँचाइ ।

धेरै वर्षसम्म बाँझो रहेको खेत अहिले हराभरा भएको छ । स्थानीय व्यापारी र उपभोक्ता तरकारी किन्न उहाँको खेतसम्म पुग्न थालेका छन् । वृद्ध बाबुआमा, दुई जना सुस्त मनस्थितिका भाइसहित आठ जनाको परिवार पाल्ने जिम्मेवारीमा रहेका दीपक अहिले तरकारी खेतीबाट सबै खर्च व्यवस्थापन गर्दै आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले अहिले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धेरै महिना त के गरौँ, के गरौँ ? भनेर दिक्दारीमा रहेँ । सेतो गुराँस बाल विकास संस्थाका प्राविधिकहरूले घरमै आएर सल्लाह दिएपछि कृषिमा होमिएँ । ” उहाँले सिँचाइका सामग्री, टनेल र बीउबिजनका लागि नगरपालिकाबाट अनुदान पाउनुभएको छ ।

कोरोनाकै कारण वैदेशिक रोजगारी गुमाएर फर्किन बाध्य अर्का युवा हुनुहुन्छ, सैनामैनाकै बाबुराम पन्थ । लामो समय मलेसियामा मजदुरी गरेका बाबुरामले पनि दीपकले जस्तै खेतमा पसिना बगाएर ‘रुपियाँ’ फलाइरहनुभएको छ । वडा नं. ७ मा रहेको उहाँको बाँझो खेत अहिले हराभरा भएको छ । चार कट्ठा आफ्नै र सात कट्ठा भाडामा गरी ११ कट्ठा जमिनमा अहिले विभिन्न प्रकारका तरकारी फलिरहेका छन् ।

वैदेशिक रोजगारीबाट पाँच जनाको परिवार धानेका बाबुरामले अहिले कृषिबाट त्यसलाई पूर्ति गर्दै हुनुहुन्छ । उहाँको भनाइ छ, “कोरोनाका कारण रित्तो हात फर्किनु पर्दा साह्रै पीडा भएको थियो । अहिले खेतका लटरम्म तरकारीले ती सबै पीडा बिर्साइदिएका छन् । ” अघिल्लो महिना उहाँले तरकारीबाटै झन्डै ५० हजार रुपियाँ आम्दानी गर्नुभयो । बाबुरामले सैनामैना नगरपालिकामार्फत टनेल प्रविधिका लागि ३५ र गड्यौँले मल बनाउन ५० हजार रुपियाँ अनुदान पाउनुभएको थियो । अरु रकम आफै जोहो गर्नुभयो ।

सैनामैनामा मात्रै पनि वैदेशिक रोजगारीबाट रित्तो हात फर्किन बाध्यमध्ये दीपक र बाबुरामजस्तै ८० जना युवा अहिले व्यावसायिक कृषिमा रमाइरहेका छन् । उनीहरूलाई विकास साझेदार यूनएनडीपी र सेतो गुराँस बाल विकास सेवा नामक संस्थासँगको आर्थिक सहकार्यमा सैनामैना नगरपालिकाले आर्थिक अनुदान दिने गरेको छ । ८० युवामध्ये ६० जनाले अरूको जग्गा भाडामा लिएर र २० जनाले आफ्नै खेतमा खेती गरिहेको नगरपालिकाले जनाएको छ । ती सबै युवाले सरदर ३५ हजार रुपियाँका दरले उपकरणका लागि अनुदान पाएका छन् ।

कोरोनाका कारण जोजगारी गुमाएका धेरै युवा अलमलमा परिरहेका बेला सैनामैनाका त्यस्ता धेरै युवाले कृषिमा क्रान्ति गरिरहेको नगरप्रमुख चित्रबहादुर कार्कीको भनाइ छ । “आर्थिक सहयोगका लागि यूएनडीपी र सेतो गुराँस बाल विकास सेवासँग सहकार्य गरेर बेरोजगार युवालाई प्रोत्साहन गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “त्यस्ता अरू युवालाई पनि स्वरोजगार बनाउने अभियान चलाइरहेका छौँ ।” कोरोनाका कारण रोजगारी गुमाएकालाई पुनः आर्थिक क्रियाकलापमा लगाउन आर्थिक सहयोगसँगै नगरपालिकासँग सहकार्य गरिरहेको यूएनडीपीका लुम्बिनी प्रदेश संयोजक सुदीप अर्यालको भनाइ छ । अर्यालले भन्नुभयो, “थोरै समयमा निकै राम्रो नतिजा देखिएको छ । युवाको श्रम स्वदेशमै पोखिएको छ । बाँझा खेत हराभरा बनेका छन्,” गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया