बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

  जेठ ०९, २०७८

काठमाडौँ, जेठ ९ : कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसीबाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ ।”

अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक-एक केजीको पोका बनाउने काम भइरहेको छ । सोमबार वा मङ्गलबार उक्त दूध लैजाने तय भएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिनुभएको थियो । दूध बिक्रीका लागि अन्य बजारको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

हाल नेपाली बजारमा कुखुराका लागि दाना र खोपमा दैनिक २७ सय मेट्रिक टनभन्दा बढी धुलो दूध खपत हुँदै आएको छ । उक्त माग आन्तरिक बजारबाटै धान्न र दूध किसानको भुक्तान दिन स्वदेशी नै धुलो दूधको प्रयोगका लागि आग्रह गरिएको थियो ।

पहिलो चरणको कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीमा डेरी उद्योगीले खपत नभएको दूधलाई धुलो दूध (एसएमपी) बनाएर राखेका थिए । कोरोनाको महामारी सकिएपछि त्यसलाई खपत गर्ने उनीहरूको योजना थियो ।

तर त्यो खपत नहुँदै दोस्रो चरणको कोभिड–१९ सुरु भएपछि भण्डारमा थन्किने नै भयो । त्यो धुलो दूध बिक्री नहुँदा डेरी उद्योगीहरू निकै मर्कामा परेपछि राष्ट्रिय दुग्ध विकास बोर्डले बजार खोज्दै जाँदा कुखुरा व्यवसायीहरूले खरिद गरिदिने प्रतिबद्धता जनाएका थिए ।

सोही व्यवस्थाअनुसार उनीहरूले खरिद गर्न सुरु गरेको बताइएको छ । कुखुरालाई दिइने खोपका लागि प्रयोग हुने धुलो दूध खरिद भएको छ ।
कुखुराका लागि प्रयोग हुने खोपका लागि मात्र दैनिक एक हजार आठ सय मेट्रिक टन धुलो दूध खपत हुने गरेको छ ।

दानाका लागि दैनिक नौ सय मेट्रिक टन खपत हुने गरेको छ । उक्त सबै परिमाणमा दूध भारतबाट आयात हुन्थ्यो । नेपालमै धुलो दूध पाउन थालेपछि उनीहरूले भारतबाट आउने गुणस्तरहीन धुलो दूध छाडेर नेपालको खरिद गर्न थालेका हुन् ।

नेपाल पोल्ट्री महासङ्घले जेठ ३ गते एक विज्ञप्ति जारी गरी नेपालमा उत्पादित धुलो दूध खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार व्यवसायीहरूले डेरी उद्योगीहरूसँग सम्पर्क गरी खरिद गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ ।

नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दहालले कुखुरा व्यवसायीहरूले धुलो दूध खरिद गर्ने भने पनि मूल्य निर्धारण नभएका कारण बिक्री वितरणमा समस्या भएको बताउनुभयो ।

दूध खरिद र त्यसलाई कन्भर्सन गर्दै लाग्ने विभिन्न खर्चको हिसाब गर्दा प्रतिकेजी छ सय रुपियाँभन्दा बढी पर्छ । अब त्यतिमा बेच्ने कि त्योभन्दा कममा बेच्ने त्यसमा अन्योल भएका कारण आफूहरूले सरकारलाई नै मूल्य निर्धारण गरिदिनका लागि आग्रह गरेको बताउनुभयो ।

जसरी सरकारले दूधको मूल्य निर्धारण गरेको छ, त्यसरी नै धुलो दूधको मूल्य निर्धारण गरिदिए बिक्री वितरण गर्न सजिलो हुने उहाँले बताउनुभयो । दुग्धजन्य पदार्थ बिक्री नहुँदा डीडीसीलगायत अन्य डेरी उद्योगले चार महिनादेखि किसानको भुक्तानी गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया