काठमाडौं, वैशाख ११ : नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएको छ । नेदरल्याण्ड्सले विरुद्धको खेलमा मात्र तीन विकेटको क्षतिमा २३८ रन बनाएको नेपालको टी ट्वान्टी अन्तर्राष्ट्रियमा यो अहिलेसम्मको सर्बाधिक ठूलो योगफल हो । नेपालको उक्त पारी अन्तर्राष्ट्रिय टी ट्वान्टीको २० औं सर्बाधिक ठूलो योगफल हो ।
यसअघि नेपालले भुटान बिरुद्ध तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो । नेदरल्याण्ड्स र मलेसिया बिरुद्धको लगातार दुई खेलमा दुई सय रनको योगफल पुरा गरेको नेपालले आफ्नै कीर्तिमान नजिक पुग्दापुग्दै भङ्ग गर्न सकेको थिएन । भुटान अपेक्षाकृत कमजोर प्रतिद्वन्दी रहेको थियो । तर नेदरल्याण्ड्स बिरुद्ध सर्बाधिक ठूलो योगफलको कीर्तिमानले नेपालको ब्याटिङ गहिराइलाई समेत बल पुर्याएको छ ।
अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल अफगानिस्तानले आयरल्याण्ड बिरुद्ध तयार गरेको छ । उसले २० ओभरमा तीन विकेटको क्षतिमा २७८ रन बनाएर उक्त कीर्तिमान बनाएको हो । अफगानिस्तानले २३ फेब्रुअरी २०१९ मा देहरादूनमा आयरल्याण्ड बिरुद्धको खेलमा विशाल योगफल तयार गरेको थियो ।