बनेपा, वैशाख ११ : सिँचाइ सुविधा नपुगेको स्थानमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्न काभ्रेको पाँच स्थानमा भूमिगत सिँचाइ सुविधा व्यवस्था गरिनेभएको छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काभ्रेले भूमिगत पानीको अनुसन्धान गरी डिप बोरिङमार्फत भूमिगत पानी निकाली पाँच स्थानमा एक हजार रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ ।
डिभिजन कार्यालय काभ्रेका हाइड्रो जियोलोजिष्ट केदार श्रेष्ठले सङ्घको ससर्त अनुदान कार्यक्रमअन्तर्गत काभ्रेको पनौती नगरपालिका–१०, मकैटार र पाँचखाल नगरपालिका–६, दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भएको बताउनुभयो ।
यसैगरी बागमती प्रदेश सरकारबाट मण्डनदेउपुर नगरपालिका–९, रानीटारमा मण्डन डिप ट्युबेल सिँचाइ, मण्डनदेउपुर कै कुन्ताबेँसीमा कुन्ताबेँसी डिप ट्युबेल सिँचाइ आयोजना र वडा नं. ११ मा भाटपोल झगरेडाँडा डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भई काम भइरहेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले पाँचखालको दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाको काम सम्पन्न भएको र पनौती मकैटार सिँचाइ आयोजनाको बोलपत्र आह्वान भएको बताउनुभयो ।
यसैगरी मण्डन डिप ट्युबेल सिँचाइ आयोजनाको बोलपत्र आह्वान भएको, कुन्ताबेँसी डिप ट्युबेल सिँचाइ आयोजना र भाटपोल झगरेडाँडा सिँचाइ आयोजनाको ट्युबेल पहिले नै निर्माण सम्पन्न भएकाले यस वर्ष दोस्रो चरणको काम गरिने हाइड्रो जियोलोजिष्ट श्रेष्ठले बताउनुभयो । एउटा डिप ट्युबेलबाट दुई सय रोपनी जमिनमा सिँचाइ गर्न सकिने श्रेष्ठले बताउनुभयो ।
हाइड्रो जियोलोजिष्ट श्रेष्ठले रामेछाप जिल्लामा सात वटा, सिन्धुलीमा सातवटा, सिन्धुपाल्चोकमा चार वटा, भक्तपुरमा दुईवटा, नुवाकोटमा सातवटा, धादिङमा पाँचवटा स्यालो ट्युबेल, रामेछापमा १२ वटा स्यालो ट्युबेल, काठमाडौँमा एउटा र ललितपुरको महालक्ष्मी नगरपालिकामा एउटा डिप ट्युबेल सिँचाइ आयोजनाको काम भएको बताउनुभयो ।
श्रेष्ठले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ प्रदेश सरकारबाट आठ करोड ५८ लाख र सङ्घीय सरकारबाट दुई करोड ४४ लाख रुपियाँ विनियोजन भएको बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।