रोल्पा, २० मंसिर : राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन्। सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन्।
उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ। कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन। साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन्। ‘सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो।
यो सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा गत वर्ष कालोपत्रे गरिएको हो। निर्माणको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने सम्झौता भएकाले सम्झौता अवधिमै सडक अस्तव्यस्त भएपछि हस्तान्तरणसमेत हुन सकेको छैन। दर्जनौं स्थानमा भत्किएको र उक्किएको यो कालोपत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ।
काम सकिएको एक वर्ष नबित्दै कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेपछि सडक हस्तान्तरणसमेत हुन सकेको छैन।
सहिद–मार्ग सडक योजना कार्यालयका अनुसार होलेरी क्षेत्रमा सिमेन्ट कारखानाका टिपरहरूले ओभर–लोड बोकेर दौडने गरेका कारण कालोपत्रे नटिकेको हो। ‘कालोपत्रे गरिएको यो सडक निर्माण व्यवसायीले हामीलाई बुझाउने बेला भएको छ तर सम्झौताअनुसारको नभएपछि हामीले बुझेका छैनौं,’ सहिद–मार्ग सडक योजना प्रमुख विष्णुबाबु पाण्डेले भने, ‘वास्तवमा क्षमताभन्दा बढी लोड बोकेर टिपरहरू कुद्न थालेपछि सडकले भार थेग्न नसकेको हो। उद्योगले वैकल्पिक मार्ग प्रयोग गरे हुन्थ्यो। हामीले उद्योगलाई पनि पत्राचार गरेका छौं।’ उनका अनुसार टिपर नचलेको ठाउँको सडक गतिलो छ तर चुनढुंगा निकासी गर्ने स्थानसम्मका प्रायः सबै घुम्तीमा सडक बिग्रिएको छ।
सडक कालोपत्रे गर्ने जिम्मा पाएको सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीका ठाकुर कँडेलले नागरिकसँग कुरा गर्दै सिमेन्ट कारखानाका टिपरका कारण आफू दिक्क भएको बताए। ‘सिमेन्ट उद्योगका टिपरले सडक क्षमताभन्दा ४० प्रतिशत बढी भारी बोकेर कुद्छन्। दाङ र रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग बसेर उद्योगले हस्ताक्षर गरेको भए पनि अत्यधिक लोड बोक्न छोडेका छैनन्,’ कँडेलले भने, ‘सिमेन्ट उद्योग कानुनको दायरामा नआउँदासम्म सडक राम्रो बन्दै–बन्दैन। तीनपटक मर्मत गरिसक्यौं, अझै कति पटक गर्नु ? अब अदालतसँग न्याय खोज्नुको विकल्प छैन।’
सोनापुर सिमेन्टका नायब महाप्रबन्धक दिलिपकुमार कर्णले चुनढुंगा बोक्ने टिपरहरू उद्योगको नभई व्यवसायीको भएको बताए। टिपरका सवालमा उद्योगको खासै भूमिका नहुने बताउँदै उनले भने, ‘त्यही पनि टिपरहरूले ओभर–लोड बोकेका छैनन्। ओभर–लोड बोक्नै पाउँदैनन्। पहिले थियो होला, अहिले त्यो समस्या छैन। हाम्रोमा चल्ने टिपरहरू ट्राफिकको नियमअनुसार चलेका छन्। सडक भत्कियो भने बनाउने जिम्मा सडकको हो हाम्रो होइन।’
उता, रुन्टीगढी गाउँपालिका होलेरीले पनि सडक सुधारमा कसैले चासो नदिएको जनाएको छ। ‘टिपरहरूले जबरजस्ती ओभर–लोड बोकेर हिँडिरहेका छन्। केन्द्र र प्रदेश सरकारलाई पटकपटक भने पनि ध्यान दिइएको छैन। जिल्ला प्रशासनले कुनै चासो दिँदैन। जनता, उपभोक्ता सडकमा आए साथ दिने पक्षमा छु,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘उद्योगले वैकल्पिक मार्ग प्रयोग नगर्दा सहिद–मार्ग जीर्ण भइसक्यो। अब पनि वैकल्पिक औधोगिक मार्ग प्रयोग नगर्ने हो भने हाम्रो सडक सकिन्छ।’
पहाडका लागि त्यति उपयुक्त नमानिएको डिजाइन स्टिमेटमा बनेको यो सडक दाङ, रोल्पाको होलेरी, घर्तीगाउँ, थवाङ, हुँदै रुकुम जोड्ने योजना रहेको छ। निर्माण सम्पन्न गरेको वर्ष दिन नपुग्दै कालोपत्रे उक्किन थालेपछि निर्माण व्यवसायी पनि दिक्क भएका छन्। त्यसो त यो योजनाको डिजाइनमा वातावरणीय जोखिम प्रभाव न्यूनीकरणका लागि बजेटसमेत छैन। ठाउँठाउँमा सडकको दुईतिर रुखबिरुवा रोप्नुपर्नेमा त्यो पनि गरिएको छैन। सडकको कालोपत्रे उक्किएजस्तै दर्जनौं स्थानमा पहिरो लडेर दुर्घटनाको जोखिम बढेको छ तर त्यसको रोकथामका लागि वातावरणीय हिसाबले कुनै काम गरिएको छैन।