नेपालगञ्ज, चैत १७ : नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढी भएकाले बाँकेका विभिन्न नाकाहरूबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ ।
नेपालभन्दा भारतमा पेट्रोल र डिजेल प्रतिलिटर १२ रुपियाँभन्दा बढी महँगो रहेकाले विभिन्न माध्यमबाट पेट्रोलियम पदार्थलाई चोरी निकासी गरेर सीमापारि भारतका विभिन्न बजारमा पु-याउने कार्य हुँदै आएको छ ।
यहाँस्थित नेपाल भारतको मुख्य नाकालगायत अन्य विभिन्न दुर्गमका नाकाबाट ठूलो परिमाणमा पेट्रालियम पदार्थको तस्करी भइहेको स्वयं प्रहरीले नै बताउँदै आएका छन् । यसमा भारतीय र कतिपय नेपाली सक्रिय भएको प्रहरीको भनाइ छ ।
तस्करीलाई रोक्न प्रहरी सक्रिय रहेको जनाउँदै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले प्रयास गर्दा गर्दै पनि ठूलो मात्रामा पेट्रोलियम पदार्थ भारततर्फ लैजाने गरिएको सूचना आएको बताउनुभयो ।
पेट्रोलियम पदार्थको सबैभन्दा बढी तस्करी नरैनापुर क्षेत्रबाट भइहेको छ । सो क्षेत्रमा प्रहरी प्रशासनको उपस्थिति अन्य क्षेत्रको तुलनामा कम रहेकाले ड्रमका ड्रम पेट्रोल र डिजेल तस्करी भइरहेको छ ।
तस्करहरूले ड्रमका ड्रम पेट्रोल र डिजेल ट्याक्टर तथा मिनी ट्रकमा राखेर सीमापारि लैजाने गरेको नरैनापुर क्षेत्रका स्थानीय बासिन्दाको भनाइ छ । पछिल्लो समयमा प्रहरीले नरैनापुर क्षेत्रबाट भारततर्फ भइरहेको पेट्रालियम पदार्थ तस्करीविरुद्ध कारबाही गर्दै मिनी ट्रकमा राखेर भारततर्फ लगिरहेको दुई हजार लिटर डिजेल बरामद गरेको छ ।
यसबाट पनि धेरै बढी मात्रामा पेट्रोल र डिजेलको तस्करी भइरहेको पुष्टि भएको स्थानीयको भनाइ छ । इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले कारबाही गर्दा नरैनापुर गाउँपालिका–१ बाट भारततर्फ तस्करी हुन लागेको दुई हजार लिटर डिजेल बुधबार बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा भे.१ ख.२९६० नं. को मिनि ट्रकमा भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा सीमा क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको डिजेल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार पठाइएको र तस्करी रोक्न प्रहरी गस्ती थप गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो ।
नेपाल भारत मुख्य नाकाको जयसपुरमा रहेको पम्पबाट पनि ९० प्रतिशतभन्दा बढी तेल भारतीयहरूले नै आएर लगेर जाने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।