काठमाडौँ, चैत १८ : चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिनुभयो ।
उहाँले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताउनुभयो । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।
चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।
नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड–१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ ।
काठमाडाँै भित्रनेको एन्टिजेन परीक्षण गरिने
यस्तै कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाउनेसमेत भएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिनुभयो ।