काठमाडौँ, चैत १२ : आगामी साउनदेखि सहकारी बैङ्क सञ्चालनमा आउने भएको छ । सहकारी अभियानले बैङ्क स्थापनाका लागि सहकारी विभागमार्फत राष्ट्र बैङ्कमा निवेदन दिएको छ । राष्ट्र बैङ्कको आशयपत्र प्राप्त भएपछि बैङ्क सञ्चालन अगाडि बढाइने बैङ्क गठनका लागि गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुुभयो, “राष्ट्र बैङ्कमा आशयपत्रका लागि सहकारी विभागमार्फत पत्र पठाएका छौँ, आवश्यक छानबिनपछि आशयपत्र प्राप्त हुनेछ, हामी आगामी साउनदेखि बैङ्क सञ्चालनको तयारीमा छौँ । ” भेलाबाट पारित विनियम तथा कार्ययोजना राष्ट्र बैङ्कमा दर्ताका लागि पठाइएको छ ।
संयोजक भण्डारीका अनुसार प्रस्तावित नेपाल सहकारी बैङ्कको कुल पँुजी पाँच अर्ब रुपियाँ हुनेछ । सुरुमा सेयर पुँजी एक अर्ब ५० करोड रुपियाँ हुनेछ । जारी पुँजी तीन अर्ब छ । सहकारी बैङ्क सञ्चालनका लागि निरन्तर तीन वर्ष नाफा कमाएका कम्तीमा पाँच सय एकवटा सहकारी संस्थाहरूलाई सदस्य बनाउनुपर्छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य रहनुपर्ने लगायतका व्यवस्थाहरू पूरा गरी निवेदन गरिएको भण्डारीको भनाइ छ ।
सहकारी संस्थाहरूलाई हाल बैङ्कहरूले ऋणसमेत दिन छोडेको अवस्थामा सहकारी बैङ्कले सहकारी आन्दोलनलाई नै अघि बढाउने संयोजक भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “खोल्न लागिएको नेपाल सहकारी बैङ्कले सहकारी क्षेत्रमै काम गर्ने हो, लगानी सहकारीमै हुने हो, हाम्रो सबै सर्भिस सहकारीलाई नै हुन्छ, सहकारी क्षेत्रमा उत्पादनलाई फोकस गरेर हामी लगानी गर्छौं ।”
दर्ता गर्न लागिएको सहकारी बैङ्क नेपालमा दोस्रो हुनेछ । यसअघि राष्ट्रिय सहकारी बैङ्क सञ्चालनमा छ । बैङ्क स्थापनाका लागि सात सयभन्दा बढी सहकारी संस्थाबाट सेयर प्रतिबद्धता आइसकेको छ ।
सहकारी विभागका अनुसार देशभर २९ हजार आठ सय सहकारी संस्थाहरू छन् । जसमध्ये १२ हजार २८३ सहकारी संस्था राष्ट्रिय सहकारी बैङ्कमा आबद्ध भएका छन् । सहकारी बैङ्कले सहकारी सङ्घ, संस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । सहकारी बैङ्क उद्घाटन अगावै सात प्रदेशमा गोष्ठीको आयोजना गरिएकाले सदस्य सङ्ख्या अझ थप हुने भण्डारीको भनाइ छ ।