पोखरा, चैत १ : सरकारी तथा गैरसरकारी डेरी उद्योगहरूले चार महिनादेखि दूध किसानको बक्यौता रकम दिएका छैनन् । औपचारिक तथा अनौपचारिक क्षेत्रको उद्योगीहरूबाट किसानले पाउन पर्ने करिब एक अर्ब रुपियाँ बक्यौता रहेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जानकारी दिनुभयो ।
दूध उत्पादनको क्षेत्रमा करिब पाँच लाख किसान आबद्ध छन् । उनीहरूले दैनिक सात लाख लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । ती सबै दूध डेरी उद्योगीहरूले सहकारीमार्फत वा सीधै किसानबाट खरिद गर्छन् । विगत चार महिना किसानले भुक्तानी पाउन नपाएको गुनासो गरेका छन् ।
अध्यक्ष देवकोटाले भन्नुभयो ‘दूध बेचेर नै गुजारा गर्ने किसानले महिनौसम्म भुक्तानी नपाउँदा निकै समस्या छन् । बैङ्कको ऋण तिर्न र गाई गोरुका लागि दाना खरिद गर्न सकिरहेका छैनन् । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सबनव सिवाकोटीले पनि डेरी उद्योगीले किसानलाई भुक्तानी नदिएकाले गुनासो बढेको बताउनुभयो ।
अधिकांश ठाउँका किसानले गण्डकी प्रदेश सरकारसमक्ष दूध बिक्रीबापतको भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । उहाँले भन्नुभयो, दूध किसानले पनि उखु किसानको जस्तो नियमित भोग्न नपारोस् । डेरी उद्योगीहरू किसानबाट आफूहरूले दूध खरिद गरे पनि कोरोनाका कारण त्यो बिक्री नभएका कारण समस्या उत्पन्न भएको बताउँछन् ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कोरोनाको महामारीमा पनि आफूहरूले किसानको दूध खरिद गरेको तर त्यो बिक्री नहुँदा धुलो र बटर बनाएर भण्डार गरेको बताउनुभयो ।भण्डार गरिएको धुलो दूध र नौनी बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, अलिअलि त हामीले दिइरहेका छौँ तर हाम्रै पुँजी फसेका कारणले भुक्तानी दिनमा समस्या भइरहेको छ । भण्डारन भएका दुग्धजन्य पदार्थ बिक्री गर्न पाएमा किसानको सबै रकम भुक्तानी गर्न सकिने उहाँको भनाइ छ ।
डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले करिब १० अर्ब रुपियाँभन्दा बढीको दुग्धजन्य पदार्थ डम्प भएर बसेका कारण समयामा भुक्तानी गर्न नसकिएको बताउनुभयो । उहाँले कोरोना महामारीको बन्दाबन्दीमा किसानबाट करिब एक अर्ब बराबरको एक करोड २० लाख लिटरभन्दा बढी दूध सङ्कलन गरी नौ सय मेट्रिक टन धुलो दूध र छ सय मेट्रिक टन नौनी उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान दिएको दाबी गर्नुभयो ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि करिब तीन महिनादेखि किसानको भुक्तानी दिएको छैन । दूधको ३० प्रतिशत क्षेत्र ओगटेको डीडीसीले पनि आफ्नो दुग्धजन्य पदार्थ बिक्री नभएका कारण किसानको भुक्तानीमा समस्या भएको जनाएको छ । डीडीसीका बजार प्रमुख सञ्जीव झाका अनुसार किसानलाई करिब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ भने एक अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ भण्डारमा डम्प भएको छ ।
कोरोनापछि बजार क्रमिक रूपमा सुधार हुँदै गइरहेको र सोही अनुपातमा भुक्तानी हुन थालेको बताउनुहुन्छ । किसानको बक्यौता रकम भुक्तानी दिन भनि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग रकम पनि माग गरेको छ । अहिलेसम्म मन्त्रालयले त्यसमा कुनै प्रतिक्रिया पठाएको छैन ।
दूध उत्पादन गर्दै आउनुभएका चितवनका किसान भगीरथ तिमिल्सिनाका अनुसार कोरोनाको महामारीको बेला पनि किसान अहिलेको जस्तो समस्या भोग्नुपरेको थिएन । दूधको भुक्तानी नपाउँदा कतिपय किसान गाईभैँसी बेच्न बाध्य भएको उहाँको भनाइ रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।