काठमाडौं, फागुन २९ : सशस्त्र प्रहरी बल(एपीएफ)ले मेयर्स कप क्रिकेटको फाइनलमा नेपाल पुलिस समक्ष १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपाल पुलिसका तीब्र गतिका बलर गुलशन झाले सुरुवाती ब्याटिङ क्रमलाई ध्वस्त बनाएपछि एपीएफ ब्याटिंगमा फर्किन सकेनन ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले २९ ओभर चार बलमा १०५ रनको सामान्य योगफलमा समेटिन पुगेको छ । एपीएफका प्रारम्भिक तीन ब्याट्सम्यान १० रनमै पेभेलियन फर्किए । तीब्र गतिका बलर झाले शंकर राना, कप्तान शरद् भेषवकार र भुवन कार्कीलाई पेभेलियन फर्काउनुभयो । अर्का ओपनर आसिफ शेष सागर ढकालको शिकार हुनुभयो । आसिफ र शरद् डक आउट हुनुभयो ।
मध्यक्रममा बसन्त रेग्मीले एपीएफको पारी उकास्ने प्रयत्न गरेपनि २२ रनको ब्यक्तिगत् योगफलमा सागर ढकालको एलबीडब्ल्युको धरापमा परेर उहाँ पेभेलियन फर्किनुभयो । सन्दीप जोरा १८ रन बनाएर ललित राजवंशीबाट एलबीडब्ल्यु आउट हुनुभयो । अमरसिंह रौटेलाले १८ रनको योगदान दिनुभयो । सुमित महर्जनलाई चार रनको ब्यक्तिगत् योगफलमा पवन सर्राफले राजवंशीको हातमा क्याच थमाएर विकेट लिनुभयो ।
तीब्र गतिका बलर गुलशन झाले सात ओभरमा ३६ रन खर्चेर चार विकेट लिनुभयो । सागर ढकालले सात ओभर ४ बलमा २८ रन खर्चेर चार विकेट लिनुभयो । पवन सर्राफ र ललित राजवंशीले एक एक विकेट बाँड्नुभयो ।