बिजुवार, फागुन २९ : कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानको गोठमै पुगेर पशुहरुको उपचार सुरू गरेको छ । पशुको बाँझोपन तथा अन्य रोगहरुको उपचारका लागि पशुविज्ञको टोली किसानको गोठगोठमै पुगेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्रका व्यबसायिक किसानहरुको गाइ भैसीको उपचार गर्न ‘डोर टु डोर’ कार्यक्रम सुरू गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम चलाइने आचार्यको भनाइ छ ।
पहिलो चरणमा पाँचसय भन्दा बढी गाई, भैंसीको उपचार गरिने कार्यालय प्रमुख आचार्यले भन्नुभयो । उहाँका अनुसार अभियानमा ५ जना पशु प्राविधिक खटिएका छन् । गाई भैंसीको बाँझोपनको उपचार, जुका, माटे, खनिजतत्व कमी बारे उपचार गरी पशुको प्रजनन् स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु चिकित्सक हरिनारायण थारुले बताउनुभयो ।
कार्यालयले पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराउने गरेको छ । पशु प्राविधिक गोठमै आएर गाइको उपचार गरेको बाग्दुलाका किसान कुलराज न्यौपानेले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा १३ हजार ४ सय ६१ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । अझैं ७ हजार २ सय ५४ मेट्रिकटन दुध जिल्लाको लागि अपुग छ ।