काठमाडौं, फागुन २७ : महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ । धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने र हिचकिचाउने गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, लाजको कारण रोग पहिचानमा समस्या नहोस भनेर महिलाको लािग आफै नै जाँच गरि क्यान्सरको पूर्वाअवस्था पत्ता लगाउने सुविधा उपलब्ध गराएको हो । धुलिखेल अस्पतालले चार महिना अघिदेखि सुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपिभी किट’ हाल सम्म १५० जना महिलाले प्रयोग गरिसकेको जानकारी दिनुभयो ।
धुलिखेल वरपरको महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको तथा सबै खुशी भएको प्रतिक्रिया डा.शाक्यले दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर तीन प्रकारले जचाउन सकिने प्रष्ट भन्नुभयो, एचपीचि डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भिआइए), तथा प्यापस्मियर टेस्ट । यो सबै डाक्टरहरुले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिचकिचाउने गरेको पाइन्छ ।
यो ‘सेल्फ स्याम्पलिङ केयर एचपिभी किट’ ले आफै नै स्यापल लिन सकिने भएकोले यसमा डाक्टरहरुले केही गर्नुपर्दे डा. शाक्यले थप्नुभयो, त्यही स्यापललाई टेस्ट गरि के छ अवस्था भन्ने बुझ्ने मात्र हो । यो किटले ३० वर्ष भन्दा माथिको महिलाहरुको मात्र जाचँ गर्न मिल्ले पनि प्रष्ट पार्नुभयो ।
विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि प्रयोग गर्न स्विकृत दिएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य नमिता घिमिरे‘सेल्फ स्याम्पलिङ केयर एचपिभी किट’ प्रयोग गर्न अनुमति दिएको जानकारी दिनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सर ठूलो स्वास्थ्य समस्या रहेको जानकारी दिँदै यो जाँच प्रक्रियाले केही हदसम्म कम गर्न सहयोग गर्ने आशा गर्नुभयो । यो अनुसन्धानको क्रममा भएको के कस्तो छ भन्न कठिन भएको पनि जानकारी दिनुभयो ।
धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.शाक्यले पाठेघरको मुखमा भएका कोषको असामान्य ढङ्गले वृद्धि हुनुनै पाठेघरको मुखको क्यान्सर हुनु हो । समय समयमा पाठेघरको जाँच गरी क्यान्सर पूर्वको अवस्था तथा प्रारम्भिक चरणको उपचार समयमा नै गर्न सके यसबाट बच्न सकिने जानकारी दिनुभयो ।
रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको छ उहाँले भन्नुभयो, नेपालमा वार्षिक १० हजारको हाराहारीमा यस क्यान्सरका बिरामी थपिने गरेको देखिएको छ ।
सुरुमा लक्षण नदेखिने भएकाले कतिपय अवस्थामा महिला निकै ढिलो मात्र उपचार गर्न आउने गरेको देखिन्छ । बिरामीको अवस्था हेर्दा रोग लागेको तेश्रो वा चौथो अवस्थामा मात्र उपचारका लागि अस्पतालमा पुगेका पाइन्छ ।
पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोगको रुपमा रहेको छ। यस रोगबाट पीडित मध्ये झण्डै ८५ प्रतिशत महिला विकासोन्मुख देशहरुमा र १५ प्रतिशतमात्र विकसित देशमा पाइएका छन् । विकसित देशहरुमा यो क्यान्सरले महिलामा हुने क्यान्सर करीब ६ प्रतिशत भाग ओगटेको छ । विकासोन्मुख देशहरुमा यो प्रतिशत अझ ठूलो रहेको छ । यो रोग ३० देखि ६५ वर्ष उमेरका महिलामा धेरै पाइएको चिकित्सकको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार यो रोगबाट वर्सेनि तीन लाखभन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ। जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् । हामी कहाँ व्यवस्थित पूर्व परीक्षण कार्यक्रम स्क्रिनिङ नभएको तथा कहिले काहीं ठूला अस्पतालमा एवं क्लिनिकमा मात्र स्क्रिनिङ गरिने हुनाले यसको रोकथाम हुन नसकेको गुनासो पनि डा.शाक्स छ ।
हरेक तीनदेखि पाँच वर्षमा कम्तीमा एकपटक पूर्वपरिक्षण कार्यक्रम स्क्रिनिङ टेष्ट गराउन आवश्यक पर्छ उहाँले थप्नुभयो, सामान्यतः २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ ।