काठमाडौं, फागुन २७ : लामो समयपछि पूर्ब कप्तान पारस खडकाको ब्याट चल्दा बागमतीले त्रिभुवन आर्मी क्लब विरुद्धको लिग चरणको अन्तिम खेलमा २६६ रनको सम्मानजनक योगफल तयार गरेको छ । पारसले ९ रनको शतकीय पारी खेल्नुभयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गरेको बागमतीले ११ रनमै कप्तान ज्ञानेन्द्र मल्ल र आकाश थापालाई गुमाएर कमजोर सुरुवात गर्यो । तर पारस खडकाले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेर पारी उकास्नुभयो । पाण्डे मात्र २६ रन बनाएर पेभेलियन फर्केपछि धरमराएको बागमतीको पारीलाई पारसले आदिल खानसँग ७७ रनको साझेदारी गरेर १७५ रनसम्म पुर्याउनुभयो ।
आदिल २१ रन बनाएर पेभेलियन फर्किए लगत्तै पारसले शतक पुरा गर्दै ११९ रनको पारी खेलेर टोलिको योगफल २०८ रनसम्म पुर्याउनुभयो । बिपीन आचार्य नौ रनमै पेभेलियन फर्किदा आठौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका नन्दन यादबले विष्फोटक पारी खेल्दै टोलिको योगफल २६६ रनसम्म पुर्याउनुभयो । उहाँले मात्र २५ बलको सामना गर्दै पाँच चौका र एक छक्का लगाएर अविजित ४२ रन बनाउनुभयो । नन्दनले एपीएफ विरुद्धको खेलमा समेत अद्र्धशतकीय पारी खेल्नुभएको थियो ।
आर्मीका लागि सोमपाल कामीले दश ओभरमा ६५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिनुभयो । बिक्रम सोबले दश ओभरमा ३८ रन खर्चेर एक विकेट लिनुभयो । जितेन्द्र मुखियाले आठ ओभरमा दुई मैडन राख्दै ४९ रन खर्चेर एक विकेट तथा साहब आलम र करण केसीले एक एक विकेट लिनुभयो ।
बागमतीले फाइनलमा पुलिससँगको भेट सुनिश्चित गर्न आर्मीलाई ठूलो अन्तरले हराउनैपर्ने तथा काठमाडौं मेयरले एपीएफ विरुद्ध जित्नुपर्ने हुन्छ । एपीएफले ठूलो अन्तरको हार बेहोरे र त्रिभुवन आर्मीले बागमतीमाथि ठूलै अन्तरको जित हात पारे काठमाडौं मेयर ११ र आर्मीको फाइनल पुग्न सम्भाबना जिवितै रहन्छ ।