काठमाडौं, फागुन २४ : त्रिभुवन आर्मी क्लबले काठमाडौं महानगर मेयर एघारलाई पाँच विकेटको जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)बाट एक विकेटको हार बेहोरेको थियो ।
मेयर ११ ले प्रस्तुत गरेको १५६ रनको लक्ष्य त्रिभुवन आर्मीले मात्र २३ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गरेको हो । मेयर कप क्रिकेट अन्तगर्त सोमबार सम्पन्न पाँचौं खेलमा त्रिभुवन आर्मीको जितमा सोमपाल कामीले सर्वाधिक ८० रनको योगदान दिनुभयो । कप्तान विनोद भण्डारीले २० रन बनाएर अविजित रहनुभयो । कुशल मल्लले २३ तथा राजेश पुलामीले ८ रन बनाएर अविजित रहनुभयो ।
काठमाडौं मेयर एघारका लागि सन्दीप लामिछाने र बिपीन खत्रीले सामान दुई दुई तथा अनिल खरेलले एक विकेट लिनुभयो । त्यसअघि, त्रिभुवन आर्मीका बलरद्वय साहब आलम र जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरेपछि काठमाडौं मेयर ११ को पारी १५५ रनमा समेटिएको थियो । साहबले चार विकेट लिँदा मुखियाले तीन विकेट लिनुभयो ।
त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको काठमाडौं मेयर एघारले ४२ ओभर एक बलमा मात्र १५५ रनमा समेटिन पुग्यो । मेयर ११ का लागि हरिशंकर साह र खडक बोहराले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेर औसत सुरुवात गर्नुभयो । ४८ रनमा साहको रुपमा पहिलो विकेट खसेको मेयर एघारको योगफल ६५ रन पुग्दा चार विकेट गुमाउन पुग्यो । साहले १८ र बोहराले १९ रनको योगदान दिनुभयो । साहब आलमले साह र बोहरासँगै बिपीन रावल र सिद्धान्त लोहनीको विकेट लिनुभयो ।
मध्यक्रममा सन्दीप रजालीले सौरभ खनालसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेर पारी उकास्ने प्रयास गर्नुभयो । तर १३१ रनमा पाँचौं विकेट गुमाएको काठमाडौं मेयर ११ ले थप २४ रन जोड्दै १५५ रनको सामान्य योगफलमा समेटिन पुग्यो । सौरभ खनालले सर्वाधिक ४२ तथा सन्दीप रजालीले ३७ रनको योगदान दिनुभयो । उसलाई सस्तोमै समेटन जितेन्द्र मुखियाले दश ओभरमा मात्र ३८ रन खर्चेर तीन विकेट लिनुभयो ।
पहिलो पाँच ओभरको स्पेलमा विकेटविहीन बन्न पुगेका मुखियाले उक्त स्पेलनमा दुई ओभर मैडन राख्नुभयो । साहब आलमले दश ओभरमा ३९ रन खर्चेर चार विकेट लिनुभयो । सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले एक एक विकेट बाँड्नुभयो । त्रिभुवन आर्मीका सोमपाल कामी प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।