काठमाडौं, फागुन २१ : रमाइलो भेटघाट होस् वा पार्टीमा नाच्न अघि सर्ने धेरै हुन्छन् । तर, ढङ्ग नपुग्ला कि भनेर पछि हट्ने त्योभन्दा बढी । नाच्न नजान्दा एउटा कुनामा खुम्चिएर बस्नुको पीडा त झन् कति हो कति ? कम्तीमा कम्मर मर्काउनमात्रै जाने पनि यस्तो पीडा भोग्न पर्दैनथ्यो भनेर नृत्य प्रशिक्षण केन्द्र धाउने अचेल बढ्दै छन् ।
डिल्लीबजार कि शान्ति लामा नृत्य सिक्न नयाँबानेश्वरको मिनिम्याक्स पुग्नुहुन्छ । उहाँले भन्नुभयो, ‘नाच्न नजान्दा टेन्सन हुन्छ । कलेजमा कार्यक्रम हुँदा अरू साथीहरू नाचेको देखेर मलाई पनि नाच्ने रहर जाग्यो ।’ मिनिम्याक्स आउनेमध्ये ६० प्रतिशतको लक्ष्य भने नृत्यलाई नै पेसा बनाउने नभएको सञ्चालक राजु श्रेष्ठले बताउनुभयो । ‘नाच्न नजान्दा पार्टी र अन्य कार्यक्रममा जान लाज लाग्न थाल्यो । लौन यसो हल्लिन सिकाइदिनुप-यो भन्नेहरू बढेका छन्,’ उहाँले भन्नुभयो ।’ किशोरकिशोरीदेखि ७० वर्षसम्मका व्यक्ति आफूकहाँ नृत्य सिक्न आउने गरेको जानकारी पनि उहाँले दिनुभयो ।
पहिले–पहिले पार्टीहरूमा नाच्ने भलाद्मी कहलिँदैनथे । खुट्टा अगाडि बढाउने थोरै मात्र हुन्थे । अहिले भने खुल्दै गएको समाज र सञ्चारमाध्यमको तीव्र विकासले नृत्यलाई बुझ्ने धारणा बदलिएको छ । अब त ‘सोसल’ हुन पनि नाच्न जान्नुपर्छ । यसलाई समयअनुसार बदलिएको ठान्नुहुन्छ नृत्य निदर्देशक कविराज गहतराज । ‘नाच्नु एउटा कला हो, शरीर हल्लाउनु र मर्काउनु नृत्य नै हो,’ गहतराज भन्नुहुन्छ, ‘अब कुनै पनि सार्वजनिक कार्यक्रम नृत्यबाट अछुतो छैन । तर, सार्वजनिक कार्यक्रममा नाच्नुपर्दा अभैm पनि कतिपय कलाकार पनि लजाउँछन् ।’
चलचित्र ‘देउता’को ‘पिरतीको मीठो तिर्सना, सकिँदैन चट्ट बिर्सन’ भन्ने गीतमा नायक राजेश हमाललाई नृत्य सिकाउन हम्मेहम्मे परेको सम्झनुहुन्छ नृत्य निर्देशक राजु शाह । हामी चलचित्र त हेर्छौं तर त्यसको पछाडिका पात्रलाई भने त्यति ख्याल गर्दैनौँ । आयो, चलचित्र हे¥यो र गयो । दुई थोपा आँसु, देउता, सगुनलगायत धेरै चलचित्रमा कलाकारलाई कम्मर मर्काउन सिकाउने नृत्य निर्देशक शाह चलचित्रमा नायकलाई भन्दा नायिकालाई सिकाउन सजिलो हुने बत(ाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एकचोटि त नायक भुवन केसीसँग झगडा नै परेको थियो । नायक भुवन केसीलाई चलचित्र ‘दुई थोपा आँसु’मा नाच्न सिकाउन खोज्दा उहाँ झगडा गर्न तम्सिनुभएको थियो ।’
कुनै जमानामा आफ्नो साथीको बिहेमा कम्मर मर्काइमर्काइ नाचेको सम्झना पूर्वमिस नेपाल उषा खड्गीसँग ताजै छ । नृत्यले पार्टीलाई थप रौनक र सम्झनलायक बनाउने उहाँको ठम्याइ छ । अहिले नृत्य आवश्यक नै बनिसकेको छ । ‘कतै नृत्यको कार्यक्रम छ भने कम्मर मर्काउनेको सङ्ख्या गनिसाध्य हुँदैन । बालबालिकादेखि वृद्धवृद्धाको ठूलो जमात देख्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘अहिलेका मान्छेमा नाच्न जान्नुपर्छ भन्ने सोच बढेको छ ।’
कतिले जानेर नाच्छन्, कतिले नजानेरै पनि आफ्नो जिउ हल्लाइरहेका हुन्छन् । सिकेरै नृत्य गर्ने हो भने लयअनुसार नाच्न सकिन्छ । त्यसो हुँदा नाच्नेको भीडमा आफूलाई ‘नोटिस’ गर्ने धेरै हुन सक्छन् । नृत्यको सम्बन्ध स्वास्थ्यसँग पनि जोडिएको छ । बागबजरमा रहेको हेल्दी डान्स थेरापीमा नृत्य सिकिरहेका धर्मेन्द्र ओझालाई ‘नाच्न जान्ने’ हुनु छ र साथै मोटोपन घटाउनु छ ।
‘दुई किसिमको फाइदा लिइरहेको छु,’ उहाँले भन्नुभयो । पार्टीमा नाच्न नजान्दा तनावमा रहनुभएकी शर्मिला पन्त अहिले स्टार डान्सिङ सेन्टरमा नृत्य सिकिरहनुभएको छ । ‘अरूले नाचेको ट्वाल्ल परेर कति हेर्नु ? जेहोस् कम्मर मर्काउन सक्ने भएकी छु,’ उहाँ ढुक्क हुँदै भन्नुहुन्छ ‘अब जुनसुकै पार्टीमा नाच्न सक्छु ।’
कमलादीको श्रुति नृत्य प्रतिष्ठान केन्द्रका सञ्चालक नरहरि पाण्डे आफूकहाँ प्रायः विवाहित महिला नै नृत्य सिक्न आउने बताउनुहुन्छ । रमाइलोका लागि नृत्य सिक्छन् उनीहरू । पुतलीसडककी कविता महर्जन यही कोटिमा पर्नुहुन्छ । ‘बहिनीको विवाह आउँदै छ । त्यसकै लागि नाच्न जान्ने हुन आएकी,’ उहाँको चुनौती छ, ‘पहिला नाच्न नजान्दा खिसी गर्नेलाई देखाउँछु ।’
पछिल्लो समय मोडल, कलाकार र युवकयुवती मात्र होइन व्यवसायी, गृहिणी, वृद्धवृद्धा, जागिरे, उद्योगीलाई समेत नृत्यमोहले तानेको छ । मुख्य गरेर शास्त्रीय, साल्सा, बल, हिपहप, बलिउड, लोक नृत्य काठमाडौँका नृत्य प्रशिक्षण केन्द्रमा सिकाइने नाच हुन् । पुतलीसडकमा रहेको साधना कला केन्द्रले मासिक एक सयदेखि डेढ सयजनालाई नृत्य सिकाउँछ ।
केन्द्रमा पाँच वर्षदेखि ६० वर्षसम्मका व्यक्ति नृत्य सिक्न आउने बताउनुहुन्छ केन्द्रका प्रबन्ध निर्देशक मिलन मोक्तान । उहाँ भन्नुहुन्छ, ‘हामीकहाँ सबै किसिमका नृत्य सिक्न आउँछन् । कोही आफ्नो सोखका लागि कोही पार्टी उत्सवमा नाच्नका लागि ।’ ‘नृत्य गर्दा भावाभिव्यक्ति कस्तो देखिन्छ, त्यो ठूलो कुरा हो । पहिलेका नायकनायिकामध्ये दिलिप रायमाझी, सुशील क्षेत्री, आर्यन सिग्देल, विराज भट्ट, मिथिला शर्मा, गौरी मल्ल, मौसमी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, रेखा थापा, अरुणिमा लम्साल, झरना थापा जस्तोसुकै नृत्य गर्न सक्छन् । तर, अहिले आएका नवनायिकालाई भने केही सिकाउन लाग्यो कि गाह्रो मान्छन्,’ नृत्य निर्देशक शाह भन्नुहुन्छ ।
कम्मर मर्काउनु र छाती हल्लाउनुमात्र नृत्य होइन । नृत्य त सङ्गीतको ताल र लयसँगै शरीरका अङ्ग सञ्चालन गर्ने कला हो । चौँसठ्ठी कलामध्येको यो ललितकला कैलाशवासी शङ्करले सबैभन्दा पहिले थालनी गरेका थिए भनिन्छ । ‘अहिलेका कतिपय नायकनायिकालाई खालि चलचित्र बिकाउनका लागि मात्र पनि नाच्न लगाइने गरिएको छ,’ गोरखापत्रअनलाइनमा उल्लेख छ ।