इस्लामाबाद, १७ फागुन : पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
घाइते १५ को उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताउनु भएको छ । यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।