काठमाडौं, फागुन १९ : शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । केही मानिसमा आयुर्वेद प्रतिको आस्था विश्वास हराएपनि पञ्चकर्म विधिले धेरै पुरानो रोगहरु निको गरेको आयुर्वेदिक चिकित्सकको दाबी छ ।
शरीरलाई शुद्घ र पुनर्जीवन दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशक डा. रामअधार यादव बताउँनुभयो । उहाँले एक दशकअघि सर्वसाधारणमा पञ्चकर्मबारे खासै चासो र जानकारी थिएन तर हाल यसबारे जिज्ञासा राख्नुको साथै यो उपचार पनि संलग्न हुन थालेको जानकारी दिनुभयो ।
डा. यादवले पञ्चकर्म प्रक्रिया रोगी नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुने सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउने धारण ब्यक्त गर्नुभयो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका काय चिकित्सा डा. सृजना श्रेष्ठले पञ्चकर्म विधिले विरामीको पीडा कम गर्नुको साथै रोगीलाई पनि निको पारेको बताउनुभयो ।
यो एक प्रकार आयुर्वेदिक विधि हो जसमा ‘शोधन’ नामक शुद्धिकरण प्रक्रियासँग सम्बन्धि चिकित्सा पद्धतिको एउटा भाग हो उहाँले भन्नुभयो, यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीर भित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।
डा.श्रेष्ठको अनुसार शुद्धिकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नु पर्छ । शरीरलाई विभिन्न तरीकाले तयार पार्न स्नेहन र स्वेदन नामक प्रक्रिया गरिन्छ ।
उहाँले थप्नुभयो, स्नेहन एक प्रकारको तेल मालिस हो । यसमा एक विशेष प्रकारको मालिसबाट पूरा शरीरमा तेलको मालिस गरिन्छ । तेल मालिसले शरीरको कोषिकालाई नरम तथा लचिलो बनाउन सहयोग पु-याई तनाव कम गर्छ । जबकी स्वेदनले पसिना निकाल्छ । यो स्नेहन लगत्तै गरिन्छ ।
पञ्चकर्म एक व्यक्तिकृत उपचार हो डा. श्रेष्ठले थप्नुभयो, एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यो व्यक्तिको शरीरको पैकार, दोष असन्तुलन तथा आवश्यकमा निर्भर गर्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्र आवश्यक हुन्छ ।
पञ्चकर्म विधि अन्तर्गत वमन, (उपचारात्मक उल्टी), विरेचन (परिष्करण चिकित्सा), वस्ति ( एनिमा), नश्य(नाकको सफाई), रक्त मोक्क्षण द्धारा उपाचार गरिने उहाँले प्रष्ट पार्नुभयो ।
पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो डा.श्रेष्ठले थप्नुभयो, यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ । खासगरी हाम्रो शरीरमा लाग्ने विभिन्न रोगका कारण हुने बाथ, पित्त र कफको दोष निवारणका लागि पञ्चकर्म विधि अपनाइने गरिन्छ ।
साधारण तया १६ देखि ७० वर्षसम्म उमेर समुहलाई पञ्चकर्म विधिबाट फाइदा हुने प्रष्ट पादै उहाँले, बिरामी वा स्वस्थ व्यक्तिले पञ्चकर्म गराउन हुने वा नहुने कुरा आयुर्वेदिक चिकित्सक, वैद्य आदिले निर्धारित गर्ने भएकाले चिकित्सकीय सल्लाह अत्यन्त आवश्यक मानिने बताउनुभयो । उहाँले बच्चा, वृद्घ, अशक्त, गर्भवती, क्षयरोगी आदिले पञ्चकर्म गराउनु नहुने मान्यता रहेको पनि बताउनुभयो ।
पञ्चकर्मले करिब १ सय ४० रोगबाट मुक्ति मिल्ने औंल्याउँदै डा. यादव भन्नुहुन्छ, ‘यो चिकित्साले वातबाट हुने ८०, पित्तबाट हुने ४० र कफबाट हुने २० प्रकारका रोगको उपचार हुन्छ ।’
पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिएको पनि जानकारी दिनुयभो ।
पञ्चकर्म मधुमेह, पक्षाघात, अर्थराइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, जीवनशैलीसँग जोडिएको रोग, न्युरोलजिकल डिसअर्डर, छालासम्बन्धी समस्या आदिमा उपयोगी मानिन्छ ।
पञ्चकर्मको पाँच प्रक्रिया
बमन : यसअन्तर्गत शरीरभित्र भएको दोषलाई वान्ताको प्रक्रियाबाट शरीरबाहिर निकालिन्छ । स्नेहन र स्वेदनको माध्यमले तरल पदार्थमा परिणत भएको शरीरभित्र रहेको विषाक्त पदार्थ वान्ताको माध्यमले शरीरबाहिर निस्किन्छ । वमन मुख्य रूपमा कफ दोष हटाउन गरिन्छ ।
विरेचन : यो प्रक्रियामा हाम्रो शरीरको दोषलाई पखाला लगाएर दिसाको माध्यमले शरीरबाहिर निकालिन्छ । यसमा आन्द्रामा जम्मा भएका विषाक्त पदार्थ शरीरबाहिर निकालिन्छ । वमन एकपटक गरेको ७ दिनपछि विरेचन गरिन्छ । विरेचन मुख्य रूपमा पित्त दोष हटाउन गरिन्छ ।
वस्ति : यो प्रक्रिया नाइटोमुनिको भाग (गुदद्वार क्षेत्र) मा गरिन्छ । यसअन्तर्गत तैलीय वस्तु वा काँडायुक्त द्रव्य गुदद्वारका माध्यमले मलाशयमा पठाइन्छ । यो मुख्यतः वात दोषका लागि राम्रो मानिन्छ । यो आधुनिक चिकित्सा पद्घतिमा गरिने एनिमासँग मिल्दोजुल्दो प्रक्रिया हो । विरेचन गरेको ७ देखि १४ दिनमा बस्ती गरिन्छ ।
नश्य : यो प्रक्रिया घाँटीभन्दा माथिल्लो भागको उपचारका लागि उपयोग गरिन्छ । यसअन्तर्गत नाकमा औषधि हालिन्छ । यसले टाउकोबाट अपशिष्ट पदार्थ निकाल्नमा सघाउँछ । बस्ती गरेको ७ दिनपछि नश्य गरिन्छ ।
रक्तमोक्षण : रक्त शुद्घीकरणको यो प्रक्रिया विभिन्न प्रकारले गरिन्छ । यसअन्तर्गत जुकालाई प्रयोग गरी अशुद्घ रगत निकालिन्छ । आवश्यक भएकाहरूलाई मात्र नश्य गरेको ७ दिनपछि रक्तमोक्षण गरिन्छ । सम्पूर्ण पञ्चकर्म गर्न २१ देखि ३० दिनसम्म लाग्न सक्छ ।