हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

  फागुन १७, २०७६

न्यूयोर्क, १७ फागुन : अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरू खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत प्रदान गर्नु पर्नेछ ।

संयुक्तराज्य अमेरिकाले चिनियाँ कम्पनीहरूलाई सुरक्षा जोखिमको रूपमा लिन्छ र आफ्ना सहयोगी मुलुकहरूलाई पछिल्लो पुस्ताको दूरसंचार नेटवर्कमा फाइभजी समेतका चिनियाँ उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ । दुबै कम्पनीले आफ्ना उत्पादन जासूसीका लागि प्रयोग गर्ने गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरिरहेका छन् ।

संघीय संचार आयोगले अमेरिकी दूरसंचार कम्पनीहरूलाई दुई चिनियाँ कम्पनीका उपकरणहरू प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । आयोगको यस निर्णयले ज्यादातर साना, ग्रामीण कम्पनीहरूलाई असर गर्नेछ । अमेरिकाका प्रमुख नेटवर्क प्रदायकहरूले चिनियाँ उपकरण प्रयोग गर्दैनन् ।

साना र ग्रामीण क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरूले आफ्नो नेटवर्क पुनर्निर्माण गर्न गाह्रो र महँगो हुने भन्दै लगातार गुनासो गर्दै आएका छन् । साना दूरसंचार प्रदायकहरूको छाता संगठनले हुवावे र जेडटीईका उपकरणहरू सस्तो मूल्यमा पाइने र करिब एक अर्ब डलरमा प्रतिस्थापन कार्य सम्पन्न हुने बताएका छन् । अमेरिकामा हुवावेका ४० वटा दूरसंचार प्रदायक कम्पनीहरू ग्राहक छन् । ग्रामीण वायरलेस एशोसिएसनले सिनेटले विधेयक पारित गरेकामा धन्यवाद दिएको छ । विधेयकले करिब २ लाख ग्राहकहरू समावेश रहेका ग्रामीण दूरसंचार प्रदायकलाई समेट्ने छ । हुवावे र जेडटीईले उक्त विधेयकका बारेमा केही टिप्पणी गरेका छैनन् ।

तपाईको प्रतिक्रिया