औद्योगिक विस्तारबाट रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

  माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग परिसंघका पदाधिकारीले आज मुख्यसचिव शंकरदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगले नेपालको कूल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगको क्षमता विकास र प्रतिस्पर्धी बनाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष मोरले नेपालको युवा शक्ति विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवालाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको लागि दीर्घकालीन लक्ष्य तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । परिसंघको अनुसन्धान एकाइले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सिर्जनाका सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो । मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीले उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्ने बताउनुभयो । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकाले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभयो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अग्रवालको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया