‘वित्तीय निकायसक्षम भएमात्र उद्योग व्यवसाय फष्टाउँछ’

  माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताउनुभएको छ । महासंघअन्तगर्तको बैंक, वित्तीय तथा बिमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले बैंक, वित्तीय तथा बिमा समिति महासंघको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रमलगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेकोसमेत जानकारी गराउनुभयो । सो एकाइ साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही एकाइमार्फत नै समाधान गरी उद्यमी व्यवसायीलाई राहत दिने आफूहरूको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले त्यसमा छिट्टै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मकरूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैंकिङ क्षेत्र बीच कहिलेकाहीँ तनावको अवस्थासमेत आउने गरेको विगतको यथार्थतालाई ध्यान दिई समितिले अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताउनुभयो ।

समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यसाय दुवै क्षेत्र फष्टाउने वातावरण बन्नुपर्नेमा उहाँको जोड थियो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिले तयार गर्ने सुझाव साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके बढी फलदायी हुने धारणा व्यक्त गर्नुभयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति आज विस्तार गरिएको छ । समितिका सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता हुनुहुन्छ । समितिका सदस्यमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहनुभएको महासंघले जनाएको छ ।

समितिका आमन्त्रितमा महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया