राष्ट्रिय महिला फुटबल लिग चन्द्रपुर र वालिङ विजयी

  माघ २५, २०७७

काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्यांजाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो । चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गर्नुभएको हो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गर्नुभएको हो । जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अंक बनाएको छ । विराटनगरको सात खेलमा १० अंक छ ।

लिगको आज सम्पन्न दोस्रो खेलमा स्यांजाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो । वालिङका लागि मेथो रुथले निर्णायक गोल गर्नुभएको हो । मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गर्नुभएको हो ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङको सात खेलमा ११ अंक छ । पुलिस आठ अंकका साथ लिगको पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

तपाईको प्रतिक्रिया