काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा चन्द्रपुरले विराटनगरलाई हराएको छ । चन्द्रपुरले विराटनगरलाई १–० ले हराएको हो ।
चन्द्रपुर नगरपालिकाका लागि रजनी ठोकरले गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न लिगको दोस्रो खेलमा ठोकरले ७० औं मिनेटमा गर्नुभएको गोल विराटनगरमाथि जित दिलाउन पर्याप्त भयो । लिगको पहिलो चरणमा विराटनगरले चन्द्रपुरमाथि ५–० को जित हात पारेको थियो ।
दोस्रो चरणमा चन्द्रपुरले विराटनगरलाई हराएर उक्त हारको बदला लिन सफल भयो । हार बेहोरे पनि विराटनगर अङ्कतालिकाको तेस्रो स्थानमा यथावत् छ । उसले सात खेलबाट दश अङ्क बटुलेको हो । चन्द्रपुर भने सात खेलबाट छ अङ्कसहित छैटाैं स्थानमा छ ।