काठमाडौं, माघ २२ : वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा बङ्गलादेशले ४३० रनको औसत योगफल तयार गरेको छ । मेहेदी हसन मिराजले शतकीय पारी खेलेपछि बङ्गलादेश बलियो स्थितिमा पुगेको हो ।
२४८ रनमा छ विकेट गुमाएको बङ्गलादेशका लागि शकीब अल हसनले मेहदी हसनसँग सातौं विकेटका लागि ६७ रनको साझेदारी गर्नुभयो । शकीब अल हसन ६८ रन बनाएर पेभेलियन फर्किदा मेहदी हसनले १०३ रनको उत्कृष्ट पारी खेल्नुभयो । ओपनर शदनम इस्लामले ५९ रनको पारी खेलेर बङ्गलादेशको पारीलाई स्थिरता दिने प्रयास गर्नुभयो । मध्यक्रममा मुश्फीक्र रहिमले ३८ तथा लिटन दासले ३८ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि जोमेल वरिकनले सर्वाधिक चार विकेट लिनुभयो । रखीम कोर्नवालले दुई तथा केमार रोच, शैनन गेब्रेल र क्रुमाह बोनरले सामान एक एक विकेट लिनुभयो । जवाबमा वेष्टइन्डिजले औसत सुरुवात गरेको छ । उसले दोस्रो दिनको खेल जारी रहँदा दुई विकेटको क्षतिमा ७५ रन बनाएको छ । ओपनर क्रैग बर्थवैटले ४९ रन बनाएर अविजित हुनुहुन्छ ।
जोन क्याम्पवेल तीन तथा शेन मोस्ली दुई रन बनाएर पेभेलियन फर्किदा दबाबमा आएको वेष्टइन्डिजलाई बर्थवैट र बोनरले तेस्रो विकेटका लागि ५१ रनको अविजित साझेदारी गर्नुभएको छ ।बङ्गलादेशका लागि मुस्तफिजुर रहमानले दुबै विकेट लिनुभयो ।