कोरोनाविरुद्धको खोप अभियान सुरु : आमनागरिक उत्साहित

  माघ १५, २०७७

काठमाडौँ, माघ १५ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा र उत्साह सञ्चार भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिनुभयो । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताउनुभयो । खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै उहाँले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताउनुभयो ।

प्रम ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताउनुभयो । सरकारले पहिलो अभियान १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप कार्यक्रमअन्र्तगत प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमती प्रदेशमा दुई हजार ६९४, गण्डकी प्रदेशमा एक हजार ८४३, लुम्बिनी प्रदेशमा ७३३, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । मन्त्रालयका अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताललगायतमा खोप अभियान सुरु गरिएको छ । यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमन गर्नुभएको थियो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना खोप लगाएपछि निश्चिन्त भएको बताउँदै खोप लगाएर आफू गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि मैले पहिलो खोप लगाएँ ।”

एक वर्षअघि चीनको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएको हो । नेपालमा पनि गत २०७६ साल माघ ९ गते कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको थियो । चीनको बुहानबाट आएका एक नेपाली युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुई लाख ६५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले आफूले ढुक्क भएर खोप लगाएको बताउनुभयो । उहाँले कोरोना खोप अन्य खोपजस्तै सामान्य भएको भन्दै यसले कुनै असर नगर्ने दाबी गर्नुभयो । उहाँले कोरोना खोप लगाएपछि मानिस मर्छन्, बौलाउँछन् भन्नु भ्रम हुने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई सुझाव दिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया