दार्चुला, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलोपटक अभिनन्दन गर्न लागिएको हो ।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सो गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रको सातौँ धामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्नुहुने कार्यक्रम छ । सुदूरपश्चिम प्रमुख शर्मिला त्रिपाठी र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट यहाँ उपस्थित हुनुहुन्छ ।
मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिलिङ्गमध्ये दोस्रो ज्योर्तिलिङ्ग मालिकार्जुनलाई मानिन्छ । यो क्षेत्रमा दार्चुला जिल्लाको साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्ने गर्छन् । सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीयस्तरमा खुशीयालीसमेत छाएको शिक्षक भुवन डागाले बताउनुभयो ।
मन्दिरमा हरेक वर्ष आश्विन र नवरात्रिभरि शिव र शक्तिको पूजा हुने गरेको छ । नौरता पर्वमा यस क्षेत्रका हजारौँ भक्तजन मन्दिरमा पूजाका लागि सहभागी हुन्छन् । मालिकार्जुन भगवान्को बासस्थान शैल्यशिखर पर्वतमा रहेको मन्दिरका मुखिया रुद्रसिंह धामी बताउनुहुन्छ । शैल्यशिखर मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ । राष्ट्रपतिको भ्रमणको अवसरमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले आज बिदासमेत दिएका छन् ।
शुक्रबार कञ्चनपुर आउनुहुने
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार यहाँ आउनुहुने भएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उहाँले सम्बोधन समेत गर्नुहुने छ ।
नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपति महोत्सवमा सहभागी भइ सम्बोधन समेत गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव फागुन ९ गतेदेखि जारी रहेको छ ।