गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण

  फागुन १५, २०७६

हुमाकान्त पोखरेल
तम्घास, १४ फागुन

मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले आज तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिनुभएको थियो ।

मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६÷७७ मा रु दुई लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो । कसुरेडाँडा समुन्द्री सतहबाट दुई हजार १५० मिटरको उचाइमा छ । कसुरेडाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताउनुभयो ।

उहाँले पोखराको सराङकोट पनि एक हजार ४५० मिटरको उचाइमा भएकाले लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । लामो दूरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दूरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताउनुभयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ विस्थापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

स्थानीय रुमा भुसाल प्याराग्लाइडिङ देखेर अचम्म पर्नुभयो । जीवनमा त्यसरी मान्छे आकाशमा उडेको देख्नुभएको थिएन । “आकाशमा गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म ! मेरो आङनै सिरिङ्ग ग¥यो”, उहाँले भन्नुभयो, “मान्छेले नजानेको केही रहेनछ ।” त्यस्तै प्याराग्लाइडिङ हुने खबर पाएर कसुरे पुगेका ६५ वर्षका भोजबहादुर चन्द पनि चकित हुनुभयो । उहाँले बाँदर नजाने भिरबाट मान्छे उड्दा आश्चर्य लागेको बताउनुभयो । चन्दले भन्नुभयो, “यो डाँडो रमाइलो होला भनेर कसैले सोचेका थिएनन् ।”

सम्भावना मर्न दिँदैनौँ : पूर्वमन्त्री विष्ट
पूर्वमन्त्री तथा गुल्मी क्षेत्र २ का सांसद गोकर्ण विष्टले विकटलाई निकट बनाउने यो सम्भावना मर्न नदिने बताउनुभयो । परीक्षणको क्रममा बुधबार कसुरे पुग्नुभएका विष्टले नियमित प्याराग्लाइडिङका लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले अग्लुङबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसँगै कालोपत्रेको काम अगाडि बढेकाले कसुरेको प्याराग्लाइडिङलाई थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले गाउँको माया मारेर मधेश झरेकाहरु पैसा तिरेर प्याराग्लाइडिङ गर्न आउने वातावरण सिर्जना गर्न आफूले कुनै विकल्प बाँकी नराख्ने बताउनुभयो ।

मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले सडक निर्माणसँगै होलबाङमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताउनुभयो । उहाँले व्यावसायिक रुपमा प्याराग्लाइडिङ अगाडि बढाउने विषयमा आफूहरु सक्रिय रुपमा लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया