काठमाडौं, पुस १५ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट खेल १०१ रनले जितेको छ । जितसँगै दुई म्याचको श्रृखंलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ३७३ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले आफ्नो दोस्रो पारीमा मात्र २७१ रन जोड्न सकेपछि हार बेहोरेको हो ।
७५ रनमै महत्वपूर्ण चार विकेट गुमाएको पाकिस्तानका लागि फवाद आलमले मोहम्मद रिजवानसँग पाँचौं विकेटका लागि १६५ रनको साझेदारी गरेर स्थिरता प्रदान गर्नुभयो । फवादले शतकीय पारी खेलेपनि पाकिस्तानको हार टार्न सक्नुभएन । न्युजिल्याण्डका लागि टिम साउदी, ट्रेन्ट बौल्ट, कायल जमीन्सन, नैल वाग्नर र मिसेल शान्टनरले सामान दुई दुई विकेट लिए ।
माउन्ट मनगुनइमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलिले पहिलो पारीमा ४३१ रनको औसत योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि केन विलियम्सनले शतकीय पारी खेलेर १२९ रनको योगफल तयार गर्नुभयो । रोस टेलरले ७० तथा हेनरी निकोलसले ५६ र बिजे वाटलिंगले ७३ रनको योगदान दिए । पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक चार तथा यासिर शाहले तीन एवम् मोहम्मद अब्बास, फहिम अशरफ र निशम शाहले एक एक विकेट लिए ।
जवाबमा पाकिस्तानले कमजोर सुरुवात गर्दै ८० रनकै स्थितिमा छ विकेट गुमाउन पुग्यो । मोहम्मद रिजवान र फहिम अशरफले सातौं विकेटका १०७ रनको साझेदारी गरे । विकेटकीपर ब्याट्सम्यान समेत रहनुभएका कप्तान रिजवानले ७१ तथा फहिम अशरफले ९१ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डका लागि कायल जमीन्सनले तीन तथा टिम साउदी, ट्रेन्ट बौल्ट र नैल वाग्नरले सामान दुई दुई विकेट लिए । प्हिलो पारीमा १९२ रनको अग्रता लिएको न्युजिल्याण्डले आफ्नो दोस्रो पारी पाँच विकेटको क्षतिमा १८० रनमा घोषणा गर्दै पाकिस्तान समक्ष ३७३ रनको लक्ष्य प्रस्तुत गर्यो ।