च्याउखेतीबाटै सन्तुष्टि, वार्षिक १२ लाखसम्म आम्दानी

  पुष ११, २०७७

दमौली, पुस ११ : तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाइपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प थिएन । त्यसलगत्तै उहाँ वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो । कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता हुनुभयो । 

विदेशमा चार वर्ष पाँच महीना बस्दा उहाँले केही पैसा त कमाउनुभयो, तर आत्मसन्तुष्टि लिन सक्नुभएन । घरमै बस्दै गर्दा उहाँलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उहाँले प्लम्बिङको काम शुरु गर्नुभयो । सँगै तरकारीखेती पनि । 

प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उहाँको घरखर्च चल्दै गयो । बिस्तारै उहाँले च्याउखेतीमा भविष्य देख्नुभयो र च्याउखेती शुरु गर्नुभयो । सात वर्ष अगाडिदेखि च्याउखेती गर्नुभएका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहनुभएको छ ।

व्यावसायिकरुपमा च्याउखेती गरिरहनुभएका श्रेष्ठ अहिले सन्तुष्ट हुनुहुन्छ । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ”, श्रेष्ठले भन्नुभयो, “मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।”

उहाँले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहनुभएको छ । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँले च्याउखेतीका लागि आठ वटा टनेल बनाउनुभएको छ । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो ।

च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताउनुभयो । “अझै थप व्यावसायिकरुपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु”, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा ४०० किलो च्याउको बीउ रोप्नुभएको छ । चौबीस दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ ।

 “एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप ४०० किलो च्याउको बीउ लगाएको छु”, उहाँले भन्नुभयो । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।    
    
बजार अभाव छैन
उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उहाँले सुनाउनुभयो । उहाँले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आउनुभएको छ ।

“कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ ।” श्रेष्ठका अनुसार थोकमा प्रति किलो रु १६० र खुद्रा रु २०० सम्म च्याउ बिक्री हुने गरेको छ । 

च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०-१५ जनालाई रोजगारी दिनुभएको छ । “अरु बेला घरपरिवारले नै काम गर्छौं, उत्पादन भएका बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छु”, श्रेष्ठले भन्नुभयो ।

व्यास नगरपालिकाले श्रेष्ठलाई रु आठ लाख अनुदान दिएको छ । व्यावसायिकरुपमा खेती गरिरहेका कृषक छनोट गरी अनुदान दिइएको नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्छौं”, उहाँले राससलाई भन्नुभयो, “उहाँको च्याउखेतीको नगरपालिकाको तर्फबाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।”

तपाईको प्रतिक्रिया