नयाँदिल्ली, पुस ७ : भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ ।
सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् । ‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।
भेटमा राजदूत आचार्यले खोप विकासको पछिल्लो अवस्था, उत्पादन र वितरण सम्बन्धमा चासो राखेका थिए । भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । केही मुलुकले खोप प्रयोगलाई अनुमति दिइसकेका छन् ।
नेपाल सरकारले जतिसक्दो चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थालाई औपचारिक रूपमै आग्रह गरिसकेको जनाएको छ । खोप खरिददेखि उपलब्ध गराउनेसम्मको प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि सरकारको दाबी छ । नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आग्रह गरिसकेको छ । यसैक्रममा भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका हुन् ।
गत महिना भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलमा पनि यस विषयले प्राथमिकता पाएको थियो । शृंगलाले पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमा नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । विश्वमा भारतले ६० प्रतिशतभन्दा बढी खोप उत्पादन गर्ने गरेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी जनवरीमा भारतमा खोप लगाउन सुरु हुने दाबी गरेका छन् । भारतमा खोपको सरकारी मूल्य ३ डलर र खुला बजारमा ६ डलरसम्म पर्ने अनुमान छ । उक्त खोप दुई पटक लगाउनुपर्ने बताइएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।