रोनाल्डोको पुनरागमन खेलमा जुभेन्ट्सबाट स्पेजिया पराजित

  कार्तिक १७, २०७७

काठमाडौं, कात्तिक १७ : क्रिष्टियानो रोनाल्डोले पुनरागमन खेलमा दोहोरो गोल गरेपछि इटाली सिरी ए मा जुभेन्ट्सले स्पेजियामाथि जित हात पारेको छ । ३५ वर्षीय रोनाल्डो दोस्रो हाफमा खेल मैदानमा उत्रेपछि दुई गोल गर्नुभयो ।

दुबै गोल उहाँले पेनाल्टीमा गर्नुभयो । कोभिड–१९ बाट सङ्क्रमित भई करिब तीन साता होम आइसोलेशनमा बस्दा उहाँले चार खेलमा अनुपस्थित हुनुपर्यो । अल्भारो मोराटाले खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै जुभेन्ट्सलाई १–० को अग्रता दिलाउनुभयो ।

३२ औं मिनेटमा स्पेजियाका लागि टोमासो पोबेगाले गोल फर्काउँदै खेल बराबरीमा ल्याउनुभयो । पहिलो हाफसम्म १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा रोनाल्डाले दुई गोल गर्नुभयो । उहाँले ५९ औं र ७६ औं मिनेटमा पाउनुभएको पेनाल्टीको अवसर गोलमा परिणत गर्नुभयो । त्यसअघि ६७ औं मिनेटमा राबिओटले तेस्रो गोल गर्दै अन्तरलाई ३–१ पर्नुभयो ।

तपाईको प्रतिक्रिया