बागलुङ, कात्तिक ४ : जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उहाँको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उहाँको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।
उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताउनसभयो । “मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ”, उहाँले भन्नुभयो । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उहाँको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।
उपाध्यायको उद्योगमा वार्षिक एक हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु पाँच हजार ५०० छ । “बजारको कुनै समस्या छैन, बरु मह पु-याउनै सकिएको छैन”, उपाध्यायले भन्नुभयो । उहाँका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ ।
एउटै याममा चार÷पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उहाँले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आउनुभएको छ । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिनुहुन्छ ।
विसं २०४५ ताका काठमाडौँ चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिनुभएका उपाध्यायले भन्नुभयो, “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।”
मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उहाँ ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसक्नुभएको छ । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उहाँको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो ।
सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उहाँलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उहाँले बताउनुभयो । “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उहाँले भन्नुभयो । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोड्नुभएको छ । उहाँलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् ।
जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउनुहुन्छ । घरमै रहनुभएकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खट्नुहुन्छ । “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भन्नुभयो, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।”
उहाँले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । “परिवारलाई कहिल्यै अभावमा राख्नु भएन, त्यतिका वर्षअघि बुवाले शुरु गर्नुभएको मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ”, खिराले भन्नुभयो ।