दक्षिण कोरियाका कोरोनाका कारण दुईको मृत्यु, ५५६ संक्रमित

  फागुन ११, २०७६

सोल, ११ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्ररुपमा फैलिएको पाइएको छ । केही दिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ ।

त्यसैगरी मृत्यु हुनेको सङ्ख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् । पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार चर्चमा सहभागी भएका मध्ये सयौँलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिँंदै गएको अधिकारीले जनाएका छन् । कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन् ।

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ । सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिनुभयो ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया