बहराइनका राजकुमारद्वारा गरे मनास्लुको सफल आरोहण

  असोज २९, २०७७

गोरखा, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ पुर्खा शेर्पाले जानकारी दिए ।

मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । तिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मिङ्मा शेर्पा र छाङदावा शेर्पा, अक्सिजनबिनै सगरमाथा चढ्ने कान्छा आरोही टासीलाक्पा शेर्पा, २४ पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पा पनि थिए ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया