दाङ, ११ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ ले सातवटै प्रदेशको अगुवाइ गरेको बताएका छन् ।
दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारको आयोजनामा आजदेखि शुरु भएको प्रदेश एक्स्पो उद्घाटन गदै उनले भने, ‘योजना अनुरुप बजेट तर्जुमाको अभ्यास हामीले मात्रै गरेका छौँ ।’ प्रदेश नं ५ लाई मिनी नेपालका रूपमा लिइएको भन्दै उनले प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने पनि बताए ।
मुख्य मन्त्री पोखरेलले प्रदेश सरकार गठन भएको दुई वर्षमा सातवटै प्रदेशभन्दा उत्कृष्ट काम गरेको बताए । साथै प्रदेश नं ५ का सबै स्थानीय तहले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको उनको भनाइ थियो ।
उनले प्रदेश नं ५ को हालको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा ४८ वटा कानून निर्माण भइसकेको जानकारी दिँदै प्रदेश सरकारले कानूनी राज्यलाई स्थापीत गर्ने काम गरेको बताए ।