समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ : भण्डारी

  फागुन १०, २०७६

दमौली, १० फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै नेता भण्डारीले नेपालका धेरैजसो सामुदायिक विद्यालयको अवस्था दयनीय रहेकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सामूहिक अठोट र प्रयास आवश्यक रहेको छ भन्नुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम हुनुको कारण खोजेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला लाग्नुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले प्रयास थालेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पूर्वाधार निर्माण प्राथमिकतामा : मन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभएको छ । तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाममा आज आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले नयाँ शहरहरूको विकास र ती शहरमा आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिने बताउनुभयो ।

देवघाटधाम नेपालकै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल भएको हुँदा यस क्षेत्रको विकासमा पनि संघीय सरकारले सक्दो सहयोग गर्ने मन्त्री मानन्धरको प्रतिबद्धता थियो । पछिल्लो समय देवघाटमा तीव्र शहरीकरण भएकोले देवघाटधामलाई केन्द्रविन्दुमा राखेर चक्रपथको निर्माण, ढल निकास, सडक कालोपत्रे लगायतको काममा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने मन्त्री मानन्धरले बताउनुभयो । उहाँले देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको स्तरोन्नतिको लागि आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सांसद कृष्णकुमार श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देवघाटको पनि ठूलो भूमिका रहने भन्दै यहाँको मठ, मन्दिरलगायत विभिन्न संरचनाको थप विकास गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देवघाटमा आएर त्रिशूली नदीसँग मिसिने कालीगण्डकी नदीको मुहान मुस्ताङको दामोदर कुण्डसम्म आगामी वैशाख–जेठमा सञ्चालन गर्न लागिएको पैदलयात्राका लागि सरकारले सहयोग गर्नका लागि मन्त्री मानन्धरको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया