खुल्यो तातोपानी नाका, १२ कन्टेनर नेपाल भित्रिए

  असोज १९, २०७७

सिन्धुपाल्चोक, असोज १९ : बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ ।

सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमती अनुसार नाका पुनः खुलेको हो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनको स्वाशासित क्षेत्र खाशाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याई दिएको थियो ।

एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन् । तर निर्यात भने भएको छैन् ।

कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए ।

उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारिएको छ ।

चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने गरेको छ । नेपाल तर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।

नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकल पूराएर जाँचपास गरि केही दिन भित्र राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

आज बेलुकी खासाबाट फेरि छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने उहाँले बताउनु भएको छ ।

ती सामान पनि मेडिकल प्रोटोकल पूरा गरि भन्सार कार्यालय ल्याइने खत्रीले जानकारी दिनु भयो ।

तातोपानी नाका बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द रहेको थियो । २०७२ बैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा बन्द भएको नाका २०७६ जेठ १५ गते सूचारु भएको थियो ।

तपाईको प्रतिक्रिया