तीन भाइ इञ्जिनियरले शुरु गरे व्यवसायिक ‘ड्रयागन फ्रुट’ खेती

  भदौ ३०, २०७७

दार्चुला, भदौ ३० : दार्चुलाको नौगाड गाउँपालिका–६ मलानमा पहिलो पटक व्यवसायिक ड्रयागन फ्रुट खेती शुरु गरिएको छ । कृषि विज्ञ महेन्द्र सिह धामी, आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामीको संयुक्त लगानिमा सिउँडी प्रजातीको ड्रयागन फ्रुट खेती शुरु गरिएको हो ।

ग्रिन ल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर यहाँका युवाले पहिलो पटक ड्रयागन फ्रुट खेती शुरु गरेको कृषि प्राविधिक प्रकाशसिह धामीले जानकारी दिनुभयो । स्थानीय दानसिह धामीको एक हजार आठ सय बर्ग किलोमिटर जमिन भाडामा लिएर यो खेती शुरु गरिएको कृषि विज्ञ महेन्द्र सिह धामीले बताउनुभयो । पहिलो चरणमा नौगाड गाउँपालिकाको दुई लाख रुपियाँ आर्थिक सहयोगमा रौतहटबाट आठ सय विरुवा मगाएर खेतमा रोपिएको छ । चार विरुवालाई एक पोल पुग्ने गरेर जमिनमा दुई सय पोल गाडेर खेतीको सुरुवात गरिएको छ । कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केहि गर्नुपर्छ भन्ने भावना लिएर व्यवसाय शुरु गरिएको कृषि विज्ञ धामीको भनाई छ ।


युवाले आठ लाख बढि रकम खर्च गरेर व्यवसाय शुरु गरेको बताएका छन् । ड्रयागन फलले दुई वर्षपछि उत्पादन दिने विज्ञ धामीले बताउनुभयो । शिक्षित युवा बाहिर गएर रोजगारी खोजिरहेको बेला आफूहरुले कृषि विषय पढेर आफ्नै क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले यो काम शुरु गरेको सो फर्ममा काम गर्ने प्राविधिक प्रकाश धामीले बताउनुभयो । सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा पहिलो पटक ड्रयागन फलको खेती आफूहरुले गरेको उहाँहरुको दाबी छ ।


नौगाड गाउँपालिकाको कार्यालय र नौगाडकै वडा नम्बर ५ र ६ को सहयोगमा खेती शुरु गरिएको छ । गत शनिबार गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको सिगों टिमसहित अनुगमनमा पुगेका गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले युवाको सोच र कामबाट आफू प्राभावित भएको र ड्रयागन फ्रुटलाई व्यवसायिकीकरण गर्न गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष धामीले भन्नुभयो, यो क्षेत्रमा कृषि विकासको निकै बढी सम्भावना छ । झन विज्ञ समूह नै व्यवसायमा लागेपछि गाउँपालिका परिवारलाई पनि हौसला मिलेको छ ।


ड्रयागन फ्रुटको देश र विदेशमा राम्रो बजार रहेको छ । यो फल बारीबाटै एक हजार रुपियाँ प्रतिकिलोका दरले बिक्री हुने गरेको विज्ञहरु बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने चमत्कारीक फलको रुपमा ड्रयागन फललाई लिने गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो ।


मानव शरीरलाई चाहिने सम्पूर्ण तत्व एवं धेरै खाले औषधीय गुण यो फलमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले ड्रयागन फललाई सुपर फूड पनि भन्ने गरिएको पन्तले बताउनुभयो । यसको व्यावसायिक खेती र उपयोग बढाउन सके धेरै आर्थिक फाइदा हुने कृषि विज्ञ महेन्द्रसिह धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया