सेयर बजार व्यवस्थापनमा नयाँ कम्पनीको तयारी

  भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : सेयर बजारमा पछिल्लोपटक नयाँनयाँ प्राविधिक समस्या देखापर्न थालेपछि सेयर बजार व्यवस्थित गर्न नयाँ कम्पनी स्थापनाको प्रयास भइरहेको छ ।

सेयर बजारमा नयाँ प्रविधि भित्रिने क्रम बढ्दै जाँदा र कारोबारको आयतन विस्तार हुँदा नयाँ खालका प्राविधिक समस्या देखापर्न थालेका छन् । जसले गर्दा लगानीकर्ता प्रत्यक्ष मारमा पर्न थालेपछि यो प्रयासको थालनी भएको हो ।

बजारमा लगानीकर्ता बिस्तारै अनलाइन कारोबारमा अभ्यस्त हुन खोजिरहेका बेला कहिले नेपाल स्टक एक्सचेन्जको प्रविधिमा त कहिले ब्रोकर कम्पनीका प्रविधिमा समस्या आउने गरेको छ । यस्ता समस्या आउँदा नेप्से र धितोपत्र दलाल व्यवसायीले एक अर्काप्रति औँला ठड्याउने प्रवृत्ति बढ्दै गएको छ । जसको प्रत्यक्ष मार लगानीकर्ताले खेप्नु परिरहेको छ । विगत केही दिनयता ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएसमा) समस्या आएपछि लगानीकर्ता मारमा परेका थिए ।

बेलाबेला आइपर्ने समस्या समाधानका लागि धितोपत्र दलाल व्यवसायीको संयुक्त लगानीमा सेयर बजारमा प्रयोग हुने सूचना प्रविधिसम्बन्धी कम्पनी स्थापना गर्ने पहल हुन थालेको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले सेयर बजारसँग सम्बन्धित सबै प्राविधिक काम गर्न र डाटा सेन्टरलाई व्यवस्थित गर्ने कम्पनीको खाँचो महसुस गरिएकाले छुट्टै कम्पनी स्थापनाको पहल थालिएको बताउनुभयो ।

सो कम्पनीमा धितोपत्र दलाल व्यवसायी, सफ्टवेयर कम्पनीलगायत अन्य सरोकारवालाको संयुक्त लगानी रहेको उहाँका भनाइ छ । उहाँ भन्नुहुन्छ, “कम्पनी दर्ता गर्नका लागि आवश्यक कागजात जुटाउने कार्य भइरहेको छ । आगामी साता कम्पनी दर्ता हुन्छ ।”

कम्पनी स्थापनाका लागि नेपाल धितोपत्र बोर्डबाट समेत सैद्धान्तिक सहमति भइसकेको उहाँले बताउनुुभयो । कम्पनी स्थापनाका लागि हाल ब्रोकर एसोसिएसनको सूचना प्रविधि समितिले काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया