स्थिर ब्याज दरमा बैङ्कर र सेवाग्राही सकारात्मक

  भदौ २५, २०७७

काठमाडौँ, भदौ २५ : नेपाल राष्ट्र बैङ्कले मङ्गलबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा घर तथा गाडी कर्जामा स्थिर ब्याज दर कायम गर्ने व्यवस्थालाई बैङ्कर तथा व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

राष्ट्र बैङ्कको निर्देशिकामा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याज दर परिवर्तन नहुने गरी स्थिर ब्याज दर कायम गर्नुपर्ने छ भनी गरिएको व्यवस्थाले बैङ्कका ऋणीलाई निकै राहत पुग्ने विश्वास गरिएको छ । यस्तो कर्जा व्यक्तिको नाममा प्रवाह भएको घर कर्जा, गाडी कर्जालगायत कुनै पनि आवधिक किस्तामा भुक्तानी हुनेगरी प्रवाह गरिएका वा हुने एक वर्षभन्दा बढीको भुक्तानी अवधि भएका कर्जामा लागू हुने उल्लेख छ ।

८ देखि ९ प्रतिशतमा गाडी कर्जा भनेर बैङ्कहरूले कर्जा प्रवाह गर्ने र पछि आफूखुसी १५ देखि १६ प्रतिशतसम्म पु¥याउने प्रवृत्तिलाई नयाँ निर्देशिकाले रोकेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलाल बताउनुहुन्छ । यस व्यवस्थाले आगामी दिनमा अटोमोबाइलको बजार विस्तार हुनेमा उहाँ आशावादी हुनुहुन्छ ।

त्यस्तै सवारी कर्जामा हाल ५० प्रतिशत मात्र कर्जा उपलब्ध हुने व्यवस्थालाई पनि संशोधन गरेर डाउन पेमेन्ट १० प्रतिशतमा झार्नुपर्ने नाडाको माग रहेको उहाँ बताउनुहुन्छ ।

नेपाल राष्ट्र बैङ्कको यो प्रावधानलाई बैङ्करले पनि निकै सकारात्मक रूपमा लिएको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशमा यस्तो कर्जा स्थिर वा परिवर्तनीय दुवै थरी हुने गरेकामा नेपालमा ढिलै भए पनि सुरुवात हुनु निकै सकारात्मक र सान्दर्भिक छ ।”

बैङ्कहरूले यससम्बन्धी केही गृहकार्य थालिसकेको पनि उहाँको भनाइ छ । उहाँले यस्तो व्यवस्थासँगै बैङ्कहरूले दीर्घकालीन निक्षेपमा पनि लगानीकर्ता र ग्राहकलाई आकर्षित गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

हालको असामान्य अवस्थामा नेपाल राष्ट्र बैङ्कले दिएको निर्देशनमा बैङ्कमा कार्यरत कर्मचारीको कोभिड उपचार खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चमा राख्न पाउने सुविधालाई पनि सकारात्मक रूपमा लिएको बताउनुभयो ।

पूर्वबैङ्कर राजु नेपाल भने राष्ट्र बैङ्कको पछिल्लो निर्देशनले राष्ट्र बैङ्क नियान्त्रणमुखी हुन थालेको टिप्पणी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्र बैङ्क वाणिज्य बैङ्कहरूको माइक्रो म्यानेजमेन्टमा जानु हुँदैन ।”

उहाँ घर र गाडीमा स्थिर कर्जाको सम्बन्धमा यो त्यति धेरै व्यावहारिक नहुने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सातदेखि १० वर्षसम्मको गाडी कर्जा वा २५ वर्षसम्मको घर कर्जा स्थिर ब्याज दरमा दिन दीर्घकालीन निक्षेपका अवसर पनि हुनुपर्छ । अहिले त्यस्तो निक्षेपका लागि पर्याप्य स्रोत देखिँदैन ।”

सोही निर्देशनमा ग्राहक स्वयंले आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याज दरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याज दर कायम गर्न सकिने व्यवस्था पनि गरेकाले उपाभोक्ताका लागि सोही व्यवस्था लागू गराउने बैङ्कहरूको रणनीति रहने हुँदा यो प्रावधान खासै सफल होला भन्नेमा विश्वास गर्न नसकिने उहाँको भनाइ छ ।  

तपाईको प्रतिक्रिया