लकडाउनले रुद्राक्षमा करोडौको लगानी डुब्ने चिन्ता

  भदौ २३, २०७७

सङ्खुवासभा, भदौ २४ : अरुण उपत्यका क्षेत्रको मुख्य आम्दानीको स्रोतको रुपमा लिईएको रुद्राक्ष खरिद बिक्रिमा समस्या आउने देखिएको छ । लकडाउनका कारण खरिदकर्ताहरु आउन नपाएपछि यस बर्षको रुद्राक्ष ब्यापार नहुने देखिएको हो ।

कोरोना भाइरसका कारण लकडाउनको समयावधि लम्बिदै गएकाले चिनियाँ र भारतीय खरिदकर्ताहरू यस वर्ष आउने सम्भावना नरहेको रुद्राक्ष ब्यावसायीहरु बताउदै आएका छन् । अन्तर देशका खरिदकर्ताहरु आउने सम्भावना कम हुँदा करोडौंको लगानी डुब्ने सम्भावना बढेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिसुङ्केले बताउनुभयो । अध्यक्ष बिसुङ्केका अनुसार अघिल्लो वर्ष असार अन्तिमदेखि नै चिनियाँ ब्यापारिहरु जिल्ला आईसकेका थिए । यस वर्ष रुद्राक्ष टिप्ने बेला हुन लाग्दा समेत कुनै खरिदकर्ताहरु सम्पर्कमा नरहेको अध्यक्ष बिसुङ्केले बताउनुभयो ।

अधिकांस रुद्राक्ष ब्यावसायीहरुले अग्रीम भुक्तानी गरेर कृषकको बगान नै ठेक्कामा लिएका हुन्छन् । आवधिक रुपमा एकै बोटको लाखौ रुपैयाँ तिरेका ब्यावसायीहरुमा रुद्राक्ष विक्रि नहुने चिन्ता बढेको छ । ठेक्का लिएको बगानमा गुणस्तरीय रुद्राक्ष फलाउने नाममा लाखौं रुपैयाँ खर्चेर औषधी समेत लगाएका छन् । रुद्राक्षको दानालाई आकर्षक र ठुलो आकार बनाउनको लागि ब्यावसायीहरुले ठुलो रकम खर्च गरेर औषधी लगाएका हुन् । यसरी औषधी लगाउदा ठेक्का रकममा दोब्बर खर्च बढेको छ । अघिल्लो बर्षहरु भन्दा बढी लगानी भएको रुद्राक्ष यस बर्ष विक्रि नहुने सम्भावना बढेपछि ब्यावसायीहरु चिन्तित बनेका हुन् ।

यसै पनि यो बर्ष अधिकांश बोटमा रुद्राक्ष अडिएको छैन । अधिक बर्षातका कारण धेरै जसो रुद्राक्षको फुल नै झरिसकेको छ । तीन सय बोट ठेक्का लिएको मध्ये आधा जस्तो मात्र अडिएको, बाँकीको फुल नै नअडिएको खाँदबारी खाँदबारी ८ का ब्यावसायी कमल कटुवालले बताउनुभयो । ठेक्का लिएको बोटमा ३० लाख रुपैयाँ बराबरको औषधी लगाएको बताउनुहुँदै रुद्राक्ष विक्रि नभए करोड भन्दा बढी नोक्सानी ब्यहोर्नु पर्ने कटुवालको भनाई छ ।

गत बर्ष सङ्खुवासभामा मात्र करिव २ अर्वको कारोबार भएको रुद्राक्ष ब्यावसायी संघका अध्यक्ष बिसुङ्खेले जानकारी दिनुभयो । ब्यावसायीहरुले गरेको कारोबारको बिवरण संघमा नआए पनि बाहिरी कारोबार हेर्दा २ करोड भन्दा कारोबार नघटेको अध्धक्ष बिसुङ्केले दावी गर्नुभयो । गत बर्ष २१ मुखे मात्र अरुण उपत्यका क्षेत्रमा ५ थान फलेको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा महँगो मानिने २१ मुखे एक दानाको मात्र ४० देखि करोड रुपैयाँसम्म पर्ने अध्यक्ष विसङ्केले जानकारी दिनुभयो । अन्य मुखदार दानाहरु पनि राम्रो मुल्यमा विक्रि हुँदै आएको छ । पाँचमुखे रुद्राक्ष भने किलोग्रामको हिसावमा विक्रि हुदै आएको छ । यस्तो रुद्राक्ष प्रति किलोग्राम पाँच सयदेखि १६ लाख रुपैयाँसम्ममा बिक्रि हुने गरेको अध्यक्ष विसुङ्केले जानकारी दिनुभयो ।

चिल्लो र ठुलो आकारको रुद्राक्ष चिनियाँ ब्यापारिले खरिद गरेर लैजाने गरेका छन् भने मुखदार रुद्राक्ष भारत निर्यात हुने गरेको छ । चिन तर्फ निर्यात हुने रुद्राक्ष सजावटका सामग्री निर्माणमा प्रयोग हुने जानकारहरु बताउछन् । भारत जाने मुखदार रुद्राक्ष धार्मिक कार्यमा प्रयोग हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया