नेकपाका धेरै नेताका दम्पत्ति नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद पनि छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा गर्दै बिहे भएका धेरै नेकपा नेतामध्ये एक थिए रविन्द्र अधिकारी । रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउँदै जीवनसंगिनी विद्या भट्टराई भने बिहेपछि सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।
करीव तीन दशकअघि कास्कीका रविन्द्र अधिकारी र सिन्धुपाल्चोककी विद्या भट्टराई तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा भेटिएका थिए । संगठनमा रविन्द्र केही सिनियर भए पनि दुवैजना लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा सहयात्री थिए । राजनीतिक सहयात्रालाई उनीहरुले २०५५ सालतिर जीवनभरको सहयात्रामा परिणत गरे ।
रविन्द्र अधिकारीसँग विवाहपछि तत्कालीन अनेरास्ववियुकी नेतृ विद्याले सक्रिय राजनीति छाडेर अध्ययन, अध्यापन तथा परिवारिक जीवनमा ध्यान दिइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि उनले रविन्द्रको राजनीतिलाई मात्र सघाइनन्, दुई छोरा विराज र स्वराज हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउने चुनौतीपूर्ण जिम्मेवारी सम्हालिन् ।
शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा अनेरास्ववियुको महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुबाट सभापति पदको प्रत्यासी थिइन् । परिस्थितिले २ दशकपछि विद्यालाई पुनः सक्रिय राजनीतिमा फर्काएको छ ।
रविन्द्रको रिक्त स्थानमा विद्याको उम्मेदवारीलाई लिएर विपक्षी नेपाली कांग्रेसदेखि महिलावादी कोणबाट समेत विरासतको राजनीति भन्दै टिप्पणी भइरहेका छ । चुनावी अभियानमा व्यस्त रहेकी विद्यासँग अनलाइनखबरकर्मीले भेट्दा आफ्नो जितप्रति भन्दा जितेपछि रविन्द्रप्रतिको जनताको भरोसा कायम गर्ने चुनौती सुनाइरहेकी थिइन् ।
७ दिनमै सकिएको काजकिरियालाई विपक्षले मसला बनाए पनि विद्याले भने राजनीतिक मुद्दामा केन्दि्रत रहने बताइन् । चुनावी अभियानका क्रममा उनले विपक्षी दलका उम्मेदवारप्रति व्यक्तिगतरुपमा कुनै टिप्पणी नगरेको र आफू राजनीतिक मुद्दाका आधारमा चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।
प्रस्तुत छ, कास्की २ की नेकपा उम्मेदवार भट्टराईसँग गरेको कुराकानी:
चुनावी अभियानका क्रममा जनताले के भनेका छन् तपाईलाई ?
मुख्य कुरा त यो निर्वाचन विशेष परिस्थितिबाट जनताले सोच्दै नसोचेको अकल्पनीय घटनाबाट हुनपुग्यो । चुनावी अभियानका जनतालाई गएर भेट्दा मैले दुईटा कुरा देखेँ । दक्षिणी क्षेत्रमा जहाँ रविन्द्रजी हुर्किनुभयो त्यता जाँदा जनताको असाध्यै माया व्यक्त भएको देखेँ । त्यहाँ म जाँदा कता-कता रविन्द्र नै आएजस्तो भन्ने कुरा पनि सुनियो ।
उहाँहरुले मलाई ‘तिमी रविन्द्रजस्तै हौ है नानी’ भन्नुभएको छ । उहाँहरुलाई मेरो हिजोको पृष्ठभूमि त्यति थाहा पनि छैन । उहाँहरुले मलाई रविन्द्रकै रुपमा लिएर रविन्द्र जस्तै हुनुपर्छ है भन्नुभएको छ । त्यो भनेको असाध्यै मायासँग जोडिएको सम्बन्ध हो ।
अर्को भनेको चाहिँ सिंगो कास्की अथवा यो चुनावी क्षेत्रमा हिजो रविन्द्रजीले गर्नुभएका कामहरुको कदर गर्नुभएको छ । उहाँको योगदान सम्भिmनुभएको छ । तपाई आउनुपथ्र्यो भन्ने लागेको थियो, हामी खुसी छौं भन्नुभएको छ । त्योखालको एउटा माहौल देखिएको छ ।
यसको मतलब, तपाईलाई रविन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा मतदाताले लिएको पाउनुभयो ?
जे-जस्ता कुराहरु विपक्षले उठाइरहनुभएको छ, ती राजनीतिक भन्दा पनि अराजनीतिक खालका छन् । राजनीतिक मुद्दामा बहस गर्न सकिन्छ तर घृणा र द्वेष फैलाउने अभिव्यक्तिको मूल्यांकन जनताले गरिरहेका हुन्छन् ।
त्यो त हुने नै भयो । तर, मूलतः म नेकपाको उम्मेदवार हुँ । जब मेरो राजनीतिक पृष्ठभूमिसहितको मेरो बायोडाटा मिडियाबाट बाहिर आयो, त्यसपछि जनताले मेरा बारेमा अझ धेरै बुझ्न पाउनुभयो । हिजो राजनीति गरेको र अहिले प्राज्ञिक क्षेत्रमा काम गरेको यत्तिको महिलाले काम गर्न सक्छ भन्ने मप्रतिको विश्वास बढेको देख्छु ।
मलाई धेरैले एकदम चुनौती छ, सरकारले पनि काम गर्न सकेको छैन मतदातामा निराशा छ भन्ने कुरा पनि गर्नुभएको थियो । हिजो काम गर्ने सन्दर्भमा कतिपय आरोप प्रत्यारोप पनि भइरहेको अवस्थामा चुनौती छ तपाईलाई धेरै प्रश्नहरु आउलान् भन्नेखालको सोधेको पनि हो ।
जनतामा गुनासो हुँदै नभएको होइन । तर, जब म गएर उभिन्छु, त्यसपछि जनताले गुनासा पन्छाएर उत्साह थप्नुभएको छ । मेरो उम्मेदवारीले सरकारप्रतिका कतिपय गुनासा र विपक्षले फैलाएका भ्रमहरु समेत जनतामै पुगेर चिर्ने काम भएको छ । जनताले मसँग अशन्तुष्टि पोख्न पाए, हामीले जवाफ दियौं ।
जनताको असन्तुष्टि वा उनीहरुको अपेक्षा चाहिँ के रहेछ ?
मेरो क्षेत्रमा ११ वटा वडा छन् पोखरा महानगरपालिकाका । ९ वटा वडा घुमिसक्दा ३३ र ११ मा चाहिँ अहिले पनि विकास निर्माण पहिलो माग छ । विकास निर्माणका कामहरु अझै धेरै हुन बाँकी छ । बाटोहरु स्तरोन्नति गर्नुपर्नेछ । त्यहाँ पूर्वाधार विकास नै प्रमुख कुरा छ । अर्को भनेको सुकुम्बासी बस्तिको कुरा पनि छ ।
त्यसैगरी महानगरको कुरा गर्दा यहाँ शहरीकरणको विकास मुख्य माग हो । बसाई सराइले गर्दा तीब्र शहरीकरण हुँदै जाँदा पोखराको सौन्दर्य बिग्रने चिन्ता व्यक्त भएको छ । जसरी काठमाडौं कुरुपतातिर गयो, पोखरा पनि त्यस्तै अव्यवस्थित शहर हुने हो कि भन्ने चिन्तामा हामी गम्भीर छौं । व्यवस्थित शहर बनाउनका लागि धेरै छलफलहरु शुरु भएका छन् । त्यसका लागि तपाईले नेतृत्व गर्नुपर्छ भन्ने सुझाव उहाँहरुले मलाई दिनुभएको छ ।
तपाईले यहाँ चुनावी प्रतिस्पर्धा गर्दैगर्दा महशुस गरेका चुनौती के हुन् ? विपक्षले त आक्रामक ढंगले उत्रेर चुनौती दिइरहेको छ होइन र ?
मैले राजनीतिक जीवनमा यस्ता भोगाईहरु पहिले पनि भोगेरै आएको हो । रविन्द्रजीले भोगेका कुरा पनि मैले देखेँ । राजनीतिभित्र हुने धेरै कुराहरुमा म भुक्तभोगी नै थिएँ । राजनीतिमा उत्रिएपछि अनेकखालका आरोप र लान्छानाहरु सहनुपर्छ भन्ने कुरा मेरो चेतनाभन्दा बाहिरको होइन ।
हिजो राजनीतिमा नआउँदासम्म कतिपय कुरा मलाई चुनौती पनि लाग्थ्यो होला । तर, अब आइसकेपछि सबै सामना गर्न तयार हुनुपर्छ । हामीकहाँ राजनीतिक संस्कृति छैन । राजनीतिक मूल्य छैन । राजनीतिक मूल्य र संस्कृतिलाई विकास गर्न पनि अब म अघि बढ्छु ।
अहिले चाहिँ मलाई के लाग्छ भने जे-जस्ता कुराहरु विपक्षले उठाइरहनुभएको छ, ती राजनीतिक भन्दा पनि अराजनीतिक खालका छन् । राजनीतिक मुद्दामा बहस गर्न सकिन्छ तर घृणा र द्वेष फैलाउने अभिव्यक्तिको मूल्यांकन जनताले गरिरहेका हुन्छन् । मलाई मुख्य चुनौती भनेको हिजो रविन्द्र अधिकारीलाई यहाँका जनताले जुन भरोसा गरेर जिम्मेवारी दिएका थिए त्यो कामय राख्नु हो ।
विपक्षी दलका शीर्षनेता पोखरामा केन्द्रित भएका बेला नेकपाका नेताहरुको चहल-पहल देखिँदैन, किन हो ?
हाम्रो मुख्यतः यहाँको जनमत नै नेकपाको पक्षमा छ । अर्को कुरा, यहाँका कुरा भन्नका लागि हाम्रा यहीँका नेताहरु प्रशस्तै हुनुहुन्छ । हामीकहाँ प्रदेश र केन्द्रमा प्रभाव राख्ने नेताहरु यही भूमिबाट हुनुहुन्छ । कांग्रेसलाई जस्तो बाहिरबाट नेता बोलाउनुपर्ने अवस्था छैन । किनकि हामीकहाँ सबै क्षेत्रका विशेषज्ञ नेताहरु यहीँ हुनुहुन्छ । अर्को कुरा, हामीले मंसिर ११ गते ठूलो जनसभा गर्दैछौं, त्यसमा चाहिँ पार्टी अध्यक्ष र महासचिवसहितका नेताहरु आउनुहुन्छ, जनतालाई सम्बोधन गर्न ।
तपाईका लागि अर्को चुनौती भनेको पार्टीभित्र धेरै टिकटका आकांक्षी नेताहरुलाई पन्छाएर आउनुभयो भन्ने छ, अहिले पार्टी पंक्ति पूरै लागेको छ त प्रचारमा ?
मेरो अनुभूति त अरुले सोचेभन्दा धेरै फरक छ । पार्टी यहाँ अभूतपूर्व रुपमा एकजुट छ । जिल्ला कमिटी बैठकले नै मेरो नाम सर्वसम्मत रुपमा पठाउनु भनेकै एकीकृत सोच हो । विमति थियो भने त तीनजनाकै नाम जान्थ्यो । किनकि केन्द्रले त ३ जनाको नाम मागेको थियो । एकल नाम जानु भनेकै पार्टीभित्र एकजुट हुनु हो । म नउठ्दाखेरि चाहिँ बरु आकांक्षीहरु हुनुहुन्थ्यो ।
कास्कीको यो चुनाव यस्तो देखिन्छ कि जित्नैपर्ने दबाबमा नेकपा छ र तपाईलाई हराउनैपर्ने र सरकार अलोकप्रिय भएको पुष्टि गर्नुपर्ने दबावमा कांग्रेस छ । यो दुवै दबावका बीचमा काज किरियादेखि अनेक आरोपहरु लागिरहेका छन्, तपाईले यी आरोपको प्रतिवाद कसरी गर्नुहुन्छ ?
रविन्द्र अधिकारी वाइडवडीमा दोषी हो भने त सबैभन्दा पहिले बैना बुझाउने शेरबहादुर देउवा निर्दोष हुने कुरा नहोला । पहिलो किस्ता कसले पठायो ? खोजी भएकै होला ।
कतिपय आरोप प्रतिवादको तहका पनि छैनन् । राजनीतिक दल र नेताहरु कुन हदसम्म अशहिष्णु बन्न हुन्छ भन्ने कुरामा बहस हुँदै जालान् । गलत छन् भने प्रमाणहरु पेश गरेर यहाँनेर गलत भएको छ भन्ने संस्कार विकास हुनुपर्छ । नत्र आरोप लाइदिने तर प्रमाणित गर्न नपर्ने तरिकाले राजनीतिक संस्कार बस्दैन ।
हामीकहाँ के हुन्छ भने आरोप लगाइदिने र मान्छेलाई बद्नाम गर्ने, तर पुष्टि नहुने । जस्तो- रविन्द्र अधिकारीमाथि जुन आरोप लगाइयो त्यही, आरोप त सायद अरुमाथि पनि लाग्न सक्ला नि । त्यो खोजीचाहिँ नगर्ने, को दोषी छ खोजी गरौं न त ।
रविन्द्र अधिकारी वाइडवडीमा दोषी हो भने त सबैभन्दा पहिले बैना बुझाउने शेरबहादुर देउवा निर्दोष हुने कुरा नहोला । पहिलो किस्ता कसले पठायो ? खोजी भएकै होला । रविन्द्र अधिकारी मन्त्री हुन्जेल त्यो इस्यु बेस्सरी उठ्यो । शेरबहादुर देउवाको नाम जोडिएपछि के भयो, हामीले देखेकै छौं ।
प्रधानमन्त्री स्वयंले रविन्द्र अधिकारी निर्दोष हो भनेर भनिसक्नुभएको छ । व्यवस्थापिकाले बनाएको पूर्वाग्रही र अपूरो प्रतिवेदन जुन राजनीतिक आग्रहणपूर्ण थियो, त्यो त कार्यपालिकाले अस्वीकार गरेको हो नि । अब त्यसको संवैधानिक अंगबाट, अख्तियारबाट टुंगो लाग्ने नै छ ।
यस्ता आरोपले त राजनीतिलाई नै खराब बाटोमा लैजान्छ । मचाहिँ कसैमाथि आरोप पनि लगाउदिनँ । पार्टीको एजेण्डामा बोल्छु ।
चुनावकै बेला कतिपय महिलावादीहरुले नै तपाईको उम्मेदवारीलाई विरासतको राजनीति भन्दै आलोचना गरेको पनि पाइयो । अझ कास्कीकै सन्दर्भमा कुन महिला उम्मेदवारले कुन पोशाक लगाए भन्नेदेखि कसले कसको झोला बोक्यो भन्नेसम्मका टिप्पणी पनि भइरहेका छन् । यस्ता टिप्पणीलाई कसरी ग्रहण गर्नुभयो ?
यसमा चाहिँ म के भन्छु भने हाम्रो सामाजिक ज्ञान जहाँ छ नि, त्यसका आधारमा टिप्पणीहरु र बिचारहरु आउने हुन् । महिलावादी भने पनि आखिर हामी यही समाजका उत्पादन हौं नि त । महिलावाद त अहिले हाम्रा लागि आफूलाई प्रस्तुत गर्ने ‘बज वर्ड’ मात्रै हो । हाम्रो आखिर ज्ञान भन्ने कुरा त सामाजिक उत्पादन हो ।
जुन समाजले उत्पादन गर्छ, म त्यस्तै हुने हो । मलाई के लाग्छ भने महिलावादीहरु पनि त स्वतन्त्र हिसाबले बोल्ने लेख्ने त छैनन् नि त । उहाँहरुका पनि आ-आफ्ना निश्चित सम्बन्धहरु छन् । त्यो सम्बन्धका आधारमा उहाँहरुले बोल्ने वा मेरो उम्मेदवारीका सन्दर्भमा टिप्पणी गर्ने कुरा स्वाभाविक हुन् ।
मलाई के लाग्छ भने हामीकहाँ महिला नेतृत्व दुई हिसाबले स्थापित भएको देखिन्छ । एउटा त मुभमेन्टबाट आउने हो, अर्को चाहिँ घटनाबाट पनि हो । महिलाको सम्बन्ध कहाँ छ त भन्दा परिवारमा छ ।
परिवारमा पनि महिलाको सम्बन्ध अहिले पनि श्रीमानसँग छ । श्रीमान नभएपछि उसको दायित्व तिमीले लिनुपर्छ भनेर समाजले भन्यो । मेरो आफ्नो क्षमता पनि छ भने तथा मेरो त्यो इतिहास पनि छ भने तयार हुने कुरालाई श्रीमती भनेरमात्रै जोड्ने कि नजोड्ने ?
म जत्तिको महिलाले राजनीतिमा आउने कुरा, यदि म रविन्द्रको श्रीमती थिइनँ भने त हिजै आइसक्थें नि त । आज आउने कुरा के म श्रीमती भएरमात्रै हो त त्यसोभए ? मेरो योग्यता पुगेन ? मेरो राजनीतिक र प्राज्ञिक योगदान छैन ? त्यसैले, जुन ढंगले महिलावादी कोणबाटै पनि प्रश्न उठाइएको छ, यसमा आग्रह छ भन्ने लाग्छ मलाई ।
उहाँहरुले आफ्नो कोणबाट कुरा उठाउनुभयो म सम्मान गर्छु । तर, मेरा बारेमा उहाँहरुलाई भ्रम पो छ कि ? हिजो रविन्द्र अधिकारीसँग विवाह भएपछि हामीले एकजना राजनीति र अर्को प्राज्ञिक क्षेत्रमा लाग्ने भनेर समझदारी गरेको हो । तर, म राजनीतिबाट टाढा थिइनँ, पार्टीबाट अलग भएकी पनि थिइनँ ।
त्यसो भए फेमिनिज्म अर्थात महिलावाद पनि फरक स्कूल अफ थटका आधारमा ब्याख्या हुने हो त ? जस्तो कि विद्या भण्डारीदेखि विद्या भट्टराईसम्मको राजनीतिक उपस्थितिको बारेमा व्यंग्य र टिप्पणी त त्यहीँबाट भएको छ होइन र ?
योचाहिँ स्कूल अफ थटकै कुरा हो । किनभने, महिलावाद भन्छौं भने त हामीले महिलाको आँखाबाट हेर्न सक्छौं नि त । विद्या भण्डारीलाई उहाँहरुले महिला मान्नुभएन । राष्ट्रपति, त्यो पनि आफूलाई बिचार नमिल्नेका रुपमा रुपमा । अहिले विद्या भण्डारीको पदीय जिम्मेवारीलाई मात्र उहाँहरुले स्वीकार गर्नुभयो ।
अब महिलावादीहरुको एउटा सोच के भन्दाखेरि श्रीमती भन्ने कुरालाई उहाँहरुले त्यति स्वीकार गर्नुहुन्न । महिलाको स्वतन्त्र अस्थित्व खोज्नुहुन्छ । श्रीमती भनेको चाहिँ दोस्रो दर्जा हो भन्ने उहाँहरुको स्कूल अफ थट छ । मलाई चाहिँ समाजशास्त्रको एउटा विद्यार्थी भएको हिसाबले के लाग्छ भने श्रीमान-श्रीमती पनि एउटा सम्बन्ध हो ।
तपाईले श्रीमान र श्रीमती भन्ने वैवाहिक प्रणाली नै भत्काउन सक्नुपर्यो । होइन, वैवाहिक सम्बन्धलाई मान्ने हो भने त श्रीमान र श्रीमतीको समान अस्थित्वलाई निर्माण गर्न पो जुट्ने हो त । त्यसैले यो स्कूल अफ थटको कुरा हो, जस्तो कि- उहाँले रविन्द्रजीको ट्वीटर हृयाण्डल मैले प्रयोग गरेको सन्दर्भमा समेत टिप्पणी गनुभएको देखेँ ।
तपाई दुई दशकपछि सक्रिय राजनीतिमा फर्किंदा धेरै परिवर्तन भइसकेको छ, नयाँ पुस्तासँग तपाईको राजनीतिक अन्तरक्रिया सायद नभएको पनि होला, उनीहरुसँग कसरी संवाद गर्दै हुनुहुन्छ ?
म सक्रिय राजनीतिमा नभए पनि युवा पुस्तासँग प्राज्ञिक हैसियतले पनि संवादमै थिएँ । म पार्टीमा पनि विभागको जिम्मेवारीमा त छँदै थिएँ ।
युवा पुस्तामा राजनीतिलाई हेर्ने दृष्टि नकारात्मक छ । राजनीति र समाज फरक कुरा हो भन्ने बुझाइ छ । सबैभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने यदि हामी समाजमा परिवर्तन चाहान्छौं र युवाको प्रतिनिधित्व खोज्छौं भने राजनीतिक स्थिरता नभई यो सम्भव नै छैन । त्यही भएर ५ वर्ष सरकार जुन भनिएको छ, यसलाई आरोपित गर्ने भन्दा पनि आलोचनात्मक चेतका आधारमा हेर्नुपर्छ ।
आरोपित गरेर, यसको विकल्प अहिले नै खोजेर ल्याउने भनेको अस्थिरता नै हो । दोस्रो कुरा, युवाहरुमा काम गर्ने, पढ्ने भन्ने कुरा हराउँदै गएको छ । सामाजिक सञ्जालमा अल्मलिने र त्यहीँ विचार निर्माण गर्ने ,त्यहीँ आरोप-प्रत्यारोप गर्ने, घृणा फैलाउने कुरा घातक छ ।
अनलाइन खबरबाट