मार्फाको रसिलो स्याउ : बजार लैजाने तयारीमा किसान

  भदौ २३, २०७७

बेनी, भदौ २२ : हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको स्याउ अहिले बजार जानका लागि तयारी अवस्थामा छ । स्याउ करिब पाकिसकेको भए पनि बजार लैजानका लागि टिप्नेदेखि लिएर अन्य व्यवस्थापन कार्यमा भने यसपटक स्थानीय नै खट्नुपर्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मुस्ताङको वैठकले मुस्ताङमा फल्ने स्याउ तथा तरकारी बिक्री तथा खरिदको व्यवस्थापनको लागि बगैंचा धनीको जिम्मेवारीमा वडा कार्यालयमार्फत सिफारिस भई आएमा थोक तथा बिक्रेतालाई क्वारेन्टीनमा रहँदै भौतिक दुरी कायम गरेर बगैचा हेर्न पाउने निर्णय गरेको छ । सिसिएमसीले स्याउ टिप्नका लागि कामदार जिल्ला बाहिरबाट ल्याउन नपाइने समेत निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनुभयो ।

गत वर्षको तुलनामा केही कम फले पनि यसवर्ष पाँच हजार मेट्रिक टन स्याउ बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कर्यान्वयन इकाई, मुस्ताङकी प्राविधिक यमुना लामाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गतवर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यायत भएको थियो, अहिले उत्पादन केही कम भए पनि राम्रोसँग पाक्न पाएकोले मूल्य भने पक्कै पर्छ ।’ गतभन्दा यसवर्ष प्रतिकेजी १० रुपैंयाँ मुल्य बढी तोकिएकोले कृषकले पाउने मुल्यमा गतवर्ष र यसवर्ष खासै फरक नपर्ने प्राविधिक लामाले बताउनुभयो ।

मुस्ताङमा गतवर्ष एक हजार दुई सय हेक्टर जमिनमा पाँच हजार ५२८ मेट्रिक टन उत्पादन भएको थियो । गतवर्ष बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ३७०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १००, लोमन्थाङ गाउँपालिकामा ३, थासाङ गाउँपालिकामा १ हजार ३ सय ६० र घरपझोङ गाउँपालिकामा २ हजार ६९४ मेट्रिक टन उत्पादन भएको थियो ।

यसवर्ष कोभिड–१९ को कारणले गर्दा यातायात नचलेको अवस्था र गत साउन ५ गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक खुल्न लामो समय लागेका कारण पनि मुस्ताङको स्याउ बजार जान पाएको थिएन । अब स्याउ तयार भएको भए पनि राम्रोसँग पाकिनसकेको हुनाले असोजबाट मात्र बजारमा लैजाने तयारीमा कृषकहरु रहेका छन् ।

मार्फाका कृषक दीपक लालचन भन्नुहुन्छ– ‘यसवर्ष सडक नहुँदा स्याउ छिटो बेच्न नपाए पनि गुणस्तरीय स्याउ अहिले बजार जाने कुराले भने खुशी बनाएको छ । विगतमा भन्दा बढी हिऊँ पर्नुका साथै साउनसम्म पनि राम्रोसँग आकाश नखुलेको हुनाले स्याउका उत्पादन कम भएको कृषक लालचनको भनाइ छ । यसवर्ष अलि बढी चिसो भएकोले ढुसीले स्याउलाई सताएकोले उत्पादन कम हुने भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया