हरेक प्रदेशमा औद्योगिक ग्राम : कतै काम तीव्र, कतै बल्ल चासो

  भदौ २३, २०७७

बुटवल, भदौ २३ : सङ्घीय सरकारले गत वर्ष घोषणा गरेका प्रदेश ५ का नौवटा औद्योगिक ग्राममध्ये कुनै पनि सञ्चालनमा आइसकेका छैनन् । केही स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई भौतिक पूर्वाधारका काम भइरहेका छन् तर केही स्थानमा भने डीपीआर निर्माण, जग्गा व्यवस्थापनजस्ता सुरुवाती चरणका काम सुरु भएका छन् ।

रुपन्देहीका तिलोत्तमा र सैनामैना, बाँकेको खजुरा, पश्चिम नवलपरासीका बर्दघाट र सुनवल, पाल्पाका तानसेन र रामपुर, दाङको तुलसीपुर तथा प्युठानको स्वर्गद्वारीमा घोषणा भएका औद्योगिक ग्राममध्ये धेरैजसो स्थानीय पालिकाले कोरोना र बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको तर्क गरेका छन् । घोषणा भएका औद्योगिक ग्रामका लागि सङ्घीय सरकारले ९२ करोड रुपियाँ अनुदान दिने गरेको छ ।

लगानी सम्मेलन गरिने
बाँकेको खजुरा गाउँपालिकामा ४० करोडको लगानीमा निर्माण भइरहेको खजुरा औद्योगिक ग्रामको भौतिक पूर्वाधारको कामलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिका अनुसार सो औद्योगिक ग्रामको डीपीआर
(विस्तृत परियोजना प्रतिवेदन) दुई महिनाअघि तयार पारिएको र सोहीबमोजिम पूर्वाधार निर्माण सुरु गरिएको हो ।

उहाँले पहिलो चरणमा औद्योगिक ग्रामको २१ बिघा जग्गा संरक्षणका लागि तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणका साथै औद्योगिक ग्रामसम्म पुग्ने १२ मिटर चौडा ग्राभेल सडक निर्माणको काम पनि सुरु गरिएको बताउनुभयो । आर्थिक वर्ष २०७६-७७ मा प्राप्त भएको ९२ लाख रुपियाँको बजेटबाट पहिलो चरणको निर्माण कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले डीपीआरअनुसार बजेट माग गर्ने र काम पूरा गर्दै जाने बताउनुभयो । लगानीकर्तालाई खजुरामा आकर्षित गर्न कोरोना सङ्क्रमणको अन्त्यपछि लगानी सम्मेलन गरिने अध्यक्ष कक्षपतिले बताउनुभयो ।

आइसक्यो जग्गाको माग
रुपन्देहीको सैनामैना नगरपालिका–७, लम्टैयामा बनाउन लागिएको औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइसकेको छ । अब औद्योगिक ग्राम निर्माणको काम हुने सैनामैना नगरपालिकाले जनाएको छ । सङ्घीय सरकारको अनुदानबाट प्लट सम्याउने, माटो भर्ने, तारजाली लगाउने, खोला र डाँडो जग्गालाई व्यवस्थित गर्ने र कम्पाउन्ड वाल निर्माणजस्ता काम भइरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले डीपीआर तयार भइसकेकाले अब भौतिक निर्माणका थप काम सुरु हुने बताउनुभयो । उहाँले गत वर्षदेखि निर्माणको काम सुरु भएको बताउँदै अब सङ्घीय सरकारले बजेट पठाएपछि निर्माणको कामले गति लिने जानकारी दिनुभयो ।

औद्योगिक ग्राम निर्माण स्थल सैनामैना नगरपालिका–७ का वडाध्यक्ष डिलाराम बेल्बासेले ३२ बिघा क्षेत्रमा औद्योगिक ग्राम निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले औद्योगिक ग्रामको पूर्वाधार तयार नहुँदै २० जना उद्योगीले उद्योग स्थापनाका लागि जग्गाको माग गरिसकेको बताउनुभयो ।

अघि बढ्यो काम
रुपन्देहीस्थित तिलोत्तमामा डीपीआर तयार भई औद्योगिक ग्रामको काम अघि बढेको छ । तिलोत्तमा नगरपालिका–१० स्थित रोहिणी खोला किनारको ५५ बिघा क्षेत्रफलमा बन्न लागेको यो ग्राममा बाटो, कल्भर्ट तथा गेट निर्माणका लागि साढे दुई करोडको ठेक्का भइसकेको तिलोत्तममा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन वर्षमा औद्योगिक ग्रामको काम सकिने छ भने ५५ करोड यसको लागत रहने छ । लकडाउनका कारण हाल काममा ढिलाइ भएको भए पनि चैत वा वैशाखसम्ममा पहिलो चरणको ठेक्काको काम सकिने घिमिरेको भनाइ छ । स्थानीय तह र प्रदेश सरकारले २०÷२० तथा सङ्घले ६० प्रतिशत लागत खर्च बेहोर्ने गरी ग्राम बन्न लागेको हो । बन्दाबन्दी खुल्नासाथ औद्योगिक प्रतिष्ठानहरूलाई सूचना जारी गर्ने तयारी गरिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।

आधा काम सकियो
पाल्पाका दुई नगरपालिका तानसेन र रामपुरले औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएका छन् । सरकारले पाल्पाका यी दुई स्थानमा ग्राम सञ्चालन गर्ने निर्णयसहित रकम पठाएपछि निर्माण प्रक्रिया सुरु भएको हो । तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले तानसेन–७ मा डीपीआर तयार गर्न व्यवसायी छनोटको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

उता रामपुर नगरपालिकाले भने डीपीआर तयार गरिसकेपछि ग्राम निर्माणको काम अगाडि बढेको जनाएको छ । रामपुर–७, विरेन्टारमा अनुसार ९९ लाख लागतमा औद्योगिक ग्राम बनाउने काममा उपभोक्ता समितिसँग सम्झौता गरिएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । उहाँले हालसम्म औद्योगिक ग्राम निर्माणको काम ५५ प्रतिशत सकिएको बताउनुभयो ।

लगत सम्पन्न
तुलसीपुर उपमहानगरपालिकामा औद्योगिक ग्राम स्थानका लागि दुईवटा स्थानको लगत लिने काम सम्पन्न भएको छ । नेपाल सरकारको निर्णयअनुसार औद्योगिक ग्रामका लागि वडा नं. १० को बेल्टाकुरा तोकिएको छ भने उपमहानगरपालिकाले वडा नं. १६ को ग्वारखोला पुल वरपरको बगर क्षेत्रलाई पनि समावेश गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेका अनुसार वडा नं. १६ को ग्वारखोला वरपरको बगर क्षेत्र र वडा नं. १० को बेल्टाकुरा क्षेत्रको लगत लिने काम सकिएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा औद्योगिक ग्राम स्थापनाका लागि एक करोड ५० लाख बजेटसमेत विनियोजन गरेको छ ।

बल्ल प्रक्रियामा
प्युठानको स्वर्गद्वारी नगरपालिका–३, बलाङ क्षेत्रमा बन्न लागेको औद्योगिक ग्रामका लागि बजेट प्राप्त भएको छ । चालू आर्थिक वर्षमा ९२ लाख रुपियाँ बजेट प्राप्त भएको वडाध्यक्ष वासुदेव रेग्मीले बताउनुभयो । यस वर्ष बजेट प्राप्त भएकाले अब निर्माणको प्रक्रिया अघि बढ्ने नगरपालिकाका प्रवक्ता हीरामणि भण्डारीले जानकारी दिनुभयो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर अरू काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माण सुरु
पश्चिम नवलपरासीका दुई स्थानमा औद्योगिक ग्रामका पूर्वाधार निर्माण कार्य सुरु भएको छ । छनोटमा परेका बर्दघाट र सुनवल नगरपालिकामा अहिले जग्गाको कम्पाउन्ड वाल, आन्तरिक सडक, विद्युत्लगायतका काम सुरु गरिएको छ । सुनवल–४ को चारघरेमा १२ बिघा जमिनमा चारैतर्फ कम्पाउन्ड वाल निर्माण गरिसकिएको सुनवल नगरपालिका–४ का अध्यक्ष वीरबहादुर गुरुङले बताउनुभयो । यसैगरी बर्दघाट नगरपालिका–५ को सखुवानीमा पहिलो चरणमा सात बिघा जमिन छुट्याइएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्यायलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया